Sunday, August 21, 2016

प्रगतिशील नेपाली साहित्यको इतिहास लेखनको पद्धति तथा सम्भावित ढाँचा - प्रा. डा. तारा कान्त पाण्डेय

१. साहित्येतिहास लेखनका आधारभूत पक्ष 

यति बेला हाम्रो अपेक्षा साहित्यको इतिहास कसरी लेख्ने, त्यसको आधार र पद्धति के हुने भन्ने कुरासँग सम्बन्धित छ । यसबारे सैद्धान्तिक विमर्श सम्पन्न भइ पनि सकेको छ । त्यसका मूलभूत पक्षलाई सारांशीकृत गर्दा विषय अझ मूर्त र स्पष्ट हुने छ । तलका केही बुँदामा उक्त विमर्शको सारांश वा निष्कर्ष निम्नानुसार प्रस्तुत गर्न सकिन्छ :

 साहित्येतिहास इतिहास बोध र सौन्दर्य बोध दुवैको संश्लिष्ट रुप हो ।

 इतिहास बोधलाई ऐतिहासिक भौतिकवादले वैचारिक पीठिका प्रदान गर्दछ भने सौन्दर्य बोधलाई सौन्दर्य शास्त्र÷आलेचना शास्त्रले आधार प्रदान गर्दछ ।

 साहित्येतिहास लेखन रैखिक रुपमा पृथक् विधापरक पनि गर्न सकिन्छ र मिश्रित पद्धति अनुरुप साहित्य समष्टिकै गर्न पनि सकिन्छ ।

 जुन किसिमले गरे पनि साहित्येतिहासमा साहित्यको विकास प्रक्रियालाई समाज विकासको ऐतिहासिक प्रक्रियाका सापेक्षता हेर्नु पर्दछ । कालखण्ड विशेषको समाजमा स्थापित उत्पादन पद्धति र (वर्ग) सङ्घर्षयुक्त उत्पादन सम्बन्ध, त्यसले निर्माण गरेको राजनीतिक संरचना र त्यस समाजमा विकसित जनताका अनुभूति÷संवदेनाको अभिव्यक्ति साहित्यमा कसरी भएको छ भन्ने कुराको अध्ययन हुनु पर्दछ ।

 साहित्य र समाजका बिचको सम्बन्धको अध्ययन हुने हुनाले साहित्यका माध्यमबाट सामाजिक इतिहास पनि हेरिन्छ भने आफ्नो समयको समाजका अन्तर्विरोधपूर्ण सम्बन्ध र वर्ग सङ्घर्ष समेतको अभिव्यक्ति साहित्यमा कसरी भएको छ भन्ने कुरा पनि हेरिन्छ । त्यस क्रममा साहित्यको यथास्थितिवादी वा परिवर्तनकामी कस्तो भूमिका रह्यो, स्रष्टाले समयको गतिशील यथार्थलाई कति सुन्दर र सत्यपरक ढंगले व्यक्त गर्न सक्यो वा त्यसप्रति उदासीन रह्यो भन्ने कुराको मूल्याङ्कन पनि साहित्येतिहासकारले गर्नु पर्दछ ।

 साहित्यको विकास प्रक्रिया र त्यसमा आएका प्रवत्तिगत परिवर्तनको अध्ययनसँगै त्यस्ता परिवर्तनले ल्याएका नवीनता र तिनको सौन्दर्यपरक एवं ऐतिहासिक मूल्यको निर्धारण पनि साहित्येतिहासकारले गर्नु पर्दछ ।

 साहित्यको विकास परम्परामा पुरानोको निषेध र नयाँको विकास हुन्छ तर पुरानो पूर्णतः निषेध नहुन पनि सक्छ, केही प्रवृत्तिहरु अवशिष्ट परम्पराका रुपमा रहि रहन पनि सक्छन् । अर्थात् साहित्यको विकास प्रक्रियामा निषेध, नव निर्माण र परम्पराको निरन्तरता यी तिनै कुरा परिघटित हुन्छन् । त्यसैले साहित्येतिहासकारले यी तिनै सन्दर्भको खोजी र व्याख्या विवेचना गर्नु पर्दछ ।

 सामाजिक विकासको प्रक्रियालाई उत्पादन सङ्घर्षले निर्धारित र प्रभावित गर्छ । यसका व्यापक क्षेत्रभित्र भाषा र जातिको विकास पनि पर्दछ । उत्पादक शक्तिको विकाससँगै जातिको विकास पनि जोडिएको हुन्छ र जातिसँगै भाषा अनि त्यस भाषाको साहित्य जोडिएको हुन्छ । त्यसैले जातिको निर्माण र विकास अनि त्यसको भाषिक विकास कसरी भएको रहेछ भन्ने कुरा पनि साहित्यका माध्यमबाट हेर्न सकिन्छ । जातिको निर्माण र विकाससँगै त्यसको भाषा र साहित्यको विकास पनि साहित्येतिहासको अध्ययनको विषय बन्छ । 

२. नेपाली प्रगतिशील साहित्यको इतिहास लेखन : समस्या र सम्भावना

समग्र साहित्य वा प्रगतिशील साहित्य जुन कुनैको पनि इतिहास लेखनको कुरा गर्दा त्यो केवल विवरण मात्र नभई मूल्य चेतनासँग गाँसिन्छ र कला साहित्यको ऐतिहासिक तथा सौन्दर्यात्मक मूल्यको निरुपण गर्दै इतिहास लेखनको कार्य सम्पन्न हुन्छ वा गरिन्छ । यो सिद्धान्तको कुरा हो जसको उल्लेख माथि भइ सकेको छ । तर नेपाली समाज र नेपाली साहित्यिक इतिहासका सन्दर्भमा यो कार्य सरल छैन । यसका थुप्रै समस्या छन् । ती यस प्रकार छन् :

अ) नेपालको साम्यवादी आन्दोलनको एउटै धारा छैन । यो अनेक धारामा विभक्त छ । एउटा धाराका आँखामा अर्को संशोधनवाद र अर्कोको आँखामा अर्को उग्रवाद वा रुढिवाद, अनि कोही कसैलाई मध्यपन्थी वा मिहिन संशोधनवाद देखिने राजनीतिक मूल्याङ्कन यहाँ हुँदै आएको छ । व्यक्तिगत रुपमा मेरा लागि पनि यी मध्ये कुनै एउटा हेराइ ठिक हुन सक्छ तर हाम्रो विशिष्टता के हो भने वैचारिक राजनीतिक आन्दोलन यसरी अनेक धारामा बाँडिए पनि प्रगतिशील भनिएका लेखकहरु हामी एउटै मोर्चामा छौं । विश्वव्यापी रुपमा यस्तो प्रायः भेटिंदैन । यो हाम्रो विशिष्टता हो तर सँगसँगै यसले जटिलता वा समस्या पनि बोकि राखेको छ । इतिहासको र वर्तमानकै मूल्याङ्कनको साझा आधार के बनाउन सकिन्छ ? निकै गारो प्रश्न छ । कसैलाई जनयुद्ध आतंकपूर्ण अतिवादी परिघटना लाग्छ, कसैलाई सामाजिक फासिवादी । तर यो त वर्ग संघर्षको महान्  प्रक्रिया र परिघटना थियो र हो भन्ने धारा पनि उत्तिकै सबल छ । यस्तो स्थितिमा इतिहासको सर्वमान्य मूल्याङ्कन कसरी गर्न सकिन्छ ?

आ) अर्र्कातिर एउटा कालखण्डमा अब्बल प्रगतवादी रचना सिर्जना गरेका स्थापित स्रष्टा पछिल्लो कालखण्डमा पथ विचलनमा पुगेर पनि साहित्य सिर्जना गरि रहेका छन् र त्यस्ता स्रष्टालाई तीव्र आलोचना र समर्थन दुवै गर्ने प्रवृत्तिहरु प्रलेसभित्र एकै ठाउँमा छन् । कृतित्व र व्यक्तित्वको मूल्याङ्कनमा यस स्थितिले पनि समस्या र जटिलता सिर्जना गरेको छ ।

इ) नेपाली साहित्य भनेर के बुझ्ने ? अहिलेको ज्वलन्त प्रश्न यो पनि हो । नेपालमा सार्वजनिक सम्पर्कको भाषाका रुपमा प्रचलित नेपाली भाषामा लेखिएको साहित्य मात्र नेपाली साहित्य होइन भन्ने मान्यता स्थापित सकेको छ । नेपालभित्र बोलिने, नेपाली नागरिकहरुले प्रयोग गर्ने भाषामा लेखएिका साहित्य सबै नेपाली साहित्य हुन् । यसमा विवाद गर्नु पर्ने छैन । तर यसो भन्दा भन्दै पनि के अहिले नेपालभित्रका सबै भाषाका प्रगतिशील साहित्यको बेग्लाबेग्लै इतिहास लेखन सम्भव छ त? मलाई लाग्छ, सबैमा एकै नास सम्भव छैन ।

ई) इतिहास लेखक समालोचक नै हुन् । समालोचक व्यक्ति विशेष नै हुन् र ती कुनै भाषिक समुदाय विशेष, जाति समुदाय विशेष, लिङ्ग विशेष, क्षेत्र÷भूगोल विशेषबाटै आएका छन् । यति बेला पहिचानको चेतनाले गर्दा कसले कसको प्रतिनिधित्व गर्छ अथवा गर्दैन जस्ता प्रश्नलाई निकै महत्त्व दिन थालिएको छ । खस समुदायको समालोचकले जनजातिको प्रतिनिधित्व गर्न सक्दैन वा उसका कृतित्वको इतिहास लेख्न सक्दैन, अथवा गैर दलित समालोचकले दलित समुदायका स्रष्टाका बारेमा लेखेको आधिकारिक हुँदैन अनि महिला स्रष्टाका कृतित्वको मूल्याङ्कन र इतिहास लेखन पुरुष समालोचकबाट हुन सक्दैन भन्ने खालका दृष्टिकोणहरु यति बेला प्रगतिशील शिविरभित्रै सक्रिय रहेका छन् । यो पनि चुनौतीको विषय हो ।

उ) इतिहास केन्द्रीय मात्र होइन, क्षेत्रीय पनि हुन्छ । प्रगतिशील नेपाली साहित्यको इतिहास क्षेत्रीय स्तरमा पनि लेख्न सकिन्छ तर अहिले नै त्यो कति सम्भव छ ?

उपर्युक्त बुँदाहरुमा मैले प्रगतिशील साहित्यको इतिहास लेखनको कुरा गर्दा अगाडि आउने समस्या तथा चुनौतीको कुरा गरेको हुँ । यसको तात्पर्य यो काम गर्नै सकिन्न भन्ने होइन । हामी सहभागी रहेको प्रलेसको प्रकृतिलाई ध्यानमा राखेर अथवा यसो भनौं त्यसका सीमालाई दृष्टिगत गरेर केही साझा अवधारणाको निर्माण गरी प्रगतिशील नेपाली साहित्यको इतिहासको आधारभूत लेखन गर्न सकिन्छ । त्यसको स्वरुप र सम्भावना निम्न प्रकारको हुन सक्छ । 


३) साहित्येतिहास लेखनको पद्धति र सम्म्भावित रुपरेखा 


(१) प्रगतिशील नेपाली साहित्यको इतिहास लेखनको परियोजना अगाडि बढाउँदा यसलाई (क) सम्पर्क भाषाका रुपमा रहेको नेपाली भाषामा लेखिएको प्रगतिशील नेपाली साहित्यको इतिहास र (ख) नेपालभित्र व्यवहारमा रहेका र प्रगतिशील साहित्य लेखिएका भाषाका साहित्यको इतिहास बेग्लाबेग्लै लेख्नु उपयुक्त हुन्छ । यसो गर्दा प्रचलित बुझाइको नेपाली भाषामा प्रगतिशील साहित्यको विधागत सिर्जना निकै समृद्ध र विस्तारित पनि भएकाले त्यसमा बेग्लाबेग्लै विधाको बेग्लाबेग्लै इतिहास लेख्नु उपयुक्त हुन्छ भने अन्य भाषाका प्रगतिशील साहित्यको इतिहास एकै ठाउँमा लेख्न सकिन्छ ।

२) प्रचलित बुझाइको नेपाली भाषाको प्रगतिशील साहित्यको इतिहास लेखन गर्दा क) कविता, ख) कथा, ग) उपन्यास, घ) नाटक (एकाङ्की समेत) र ङ) आख्यानेतर गद्य (निबन्ध समेत) विधा गरी पाँच विधाका बेग्लाबेग्लै साहित्यको इतिहास लेखन गर्नु उपयुक्त हुन्छ । सम्भव छ भने छैठौं बाल साहित्यको बेग्लै इतिहास पनि लेखिन सक्छ । यस बारे प्रलेसले आफ्ना सीमालाई दृष्टिगत गरी निर्णय गर्नु उपयुक्त हुनेछ ।

३) अन्य भाषाका प्रगतिशील साहित्यको इतिहास सम्भवतः मगर, थारु, नेपालभाषा, भोजपुरी, अवधी, मैथिली, राई जस्ता भाषाका साहित्यमा लेख्न सकिन्छ । यी भाषाका साहित्यका ज्ञाताहरुबाट बेग्लाबेग्लै इतिहास लेखाई तिनको आयाम हेरी एउटै ग्रन्थमा समावेश गर्न सकिएला ।

४) साहित्येतिहास लेखनको पद्धति ऐतिहासिक भौतिकवादको इतिहास चेतनामा आधारित हुने कुरामा विवाद छैन तर माथि उल्लेख गरिए जस्तै नेपालमा माक्र्सवादका विभिन्न वैचारिक राजनैतिक स्कुलहरु भएकाले माक्र्सवादी समालोचकहरुको मूल्याङ्कनमा पनि विविधता आउनु स्वाभाविक छ । त्यसैले स्रष्टा छनोटका लागि कम्तीमा निम्न मानदण्डलाई आधारभूत तथा साझा मानदण्ड बनाउन सकिन्छ :

* सामन्तवाद – साम्राज्यवाद तथा विस्तारवाद विरोधी चेतना
* यथास्थितिवाद विरोधी तथा परिवर्तनकामी एवं क्रान्तिकारी चेतना
* नयाँ जनवाद, समाजवाद, साम्यवादप्रति आस्था 
* कुनै पनि स्वरुपको वर्ग सङ्घर्षको समर्थन 
* समग्र रुढि र अन्धताको विरोध तथा वैज्ञानिक चेतनाको पक्षपोषण
* वर्गीय, जातीय, लैङ्गिक, क्षेत्रीय, धार्मिक, वर्णगत लगायत सबै प्रकारका मानवीय विभेद र उत्पीडनको विरोध    एवं आलोचना तथा मुक्तिको पक्षधरता
* अन्तर्राष्ट्रिय सर्वहारावादी चेतना, सर्वहारा मानवतावाद तथा कुनै पनि राष्ट्रको मुक्ति आन्दोलनको समर्थन

उक्त मानदण्डका बावजुद कतिपय विशिष्ट नेपाली सन्दर्भहरु हुन सक्छन् जसमा कुनै स्रष्टा कुनै कालखण्डमा अथवा कुनै कालखण्डको उसको रचना विशेष रुपमा विवादित हुन सक्छ अथवा त्यसबारे नेपाली प्रगतिवादी समालोचकका परस्पर भिन्न र विपरीत मूल्याङ्कन पनि हुन सक्छन् । ‘जुनकीरीको सङ्गीत’, ‘आकाशगङ्गाको तीरैतीर’, ‘उदास शनिवार’ लगायतका कृतिहरु यसका उदाहरण हुन सक्छन् । यसको समाधान यसरी गर्न सकिएला :

अ) स्रष्टा र सिर्जनाको उल्लेख गर्ने, त्यसका मूल प्रवृत्तिको उल्लेख गर्ने र त्यसमाथि नेपाली प्रगतिवादी समालोचकका फरक फरक विचार,अभिमत र मूल्याङ्कनको पनि उल्लेख गरेर अगाडि बढ्ने ।

आ) प्रगतिशीलताका दृष्टिले अति विवादित र यथार्थको विद्रू्पीकरण गरिएका कृतिको सूचीकरण नगर्ने

इ) कुनै चरण विशेषमा प्रगतिशील साहित्यभित्रकै धारागत पृथकतालाई भने बेग्लै ठाउँमा राखेर त्यसका प्रवृत्तिको उल्लेख गर्न सकिन्छ, जस्तै जनयुद्धको कालखण्डमा क) जनयुद्धलाई समर्थन गर्ने धारा ख) जनयुद्धप्रति आलोचक धारा ।

यस्तै क) बहुदलीय जनवादलाई समर्थन गर्ने धारा ख) बहुदलीय जनवादप्रति आलोचक धारा

ई) जुन स्रष्टा जुन कालखण्डमा प्रगतिशील चेतनायुक्त छ, उसलाई त्यही कालमा राख्ने र पछिल्लो कालखण्डमा उसमा प्रगतिशील धाराबाट पथविचलन छ वा प्रगतिशील धाराको परित्याग छ भने त्यस कालमा उसको समावेशन नगर्ने ।

उ) यति हुँदाहुँदै पनि कतिपय स्रष्टाका सन्दर्भमा साहित्येतिहासकारका विचार वा मूल्याङ्कनबारे प्रलेसले विशेष निर्णय लिनु पर्ने अवस्था हुन सक्दछ ।

५) साहित्येतिहास लेखनको ढाँचा

क) प्रलेसको वर्तमान संरचनागत सीमाका कारण साहित्येतिहास लेखनलाई सूक्ष्म मूल्याङ्कनपरक बनाउनु सम्भव देखिँदैन । जति सूक्ष्म मूल्याङ्कनतिर जाने प्रयत्न गरिन्छ, लेखन त्यति नै निर्णयात्मक हुँदै जान्छ । यसो गर्दा वैचारिक मतैक्यताको स्थिति निर्माण नहुन सक्छ । त्यसैले आधारभूत रुपमा अहिलेको साहित्येतिहास लेखन रैखिक प्रकारको नै हुनु सम्भव छ जसमा बढीभन्दा बढी ऐतिहासिक तथ्यहरु÷सूचनाहरु सङ्कलित÷समाविष्ट हुन सकुन् । एक प्रकारले त्यो विवरणात्मक नै हुन्छ । माथि उल्लेख गरिएका प्रगतिशीलताका आधारभूत सूचक÷मानदण्डलाई आधार बनाएर आग्रहरहित ढङ्गले स्रष्टाहरुको समावशेन ÷ सूचीकरण गर्ने काम गर्नु पर्दछ जसबाट प्रत्येक विधाको सग्लो र ऐतिहासिक रुपरेखा तयार होस् ।

ख) स्रष्टाहरु र तिनका सिर्जनाको सङ्कलन पश्चात् नेपाली समाजको विकास प्रक्रियाका सापेक्षतामा प्रगतिशील नेपाली साहित्यको काल विभाजन गर्नु पर्दछ । काल विभाजनको आधार निम्न सन्दर्भलाई बनाउनु पर्दछ :

* सामाजिक विकास÷वर्ग संघर्षको ऐतिहासिक पृष्ठभूमि
* नव युग आगमन÷निर्माणका कारणहरु ः आर्थिक संरचना÷वर्ग संघर्षले पारेको प्रभाव
* पूर्ववर्ती र समकालीन साहित्यिक पृष्ठभूमि 
* परम्पराको निषेध र नवीन प्रवृत्तिको निर्माण

यी आधारमा काल निरुपण गरिसकेपछि प्रत्येक कालखण्डको सिर्जनाको सूचीकरण, सम्बन्धित स्रष्टाहरुका परिचय र तिनका सिर्जनागत प्रवृत्तिको उल्लेख गरेर अगाडि बढ्नु उपयुक्त हुन्छ ।

ग) काल÷चरण विभाजन नेपाली साहित्यमा गरिँदै आएको प्राथमिक, माध्यमिक र आधुनिक कालको परम्परागत चरण विभाजनकै रुपमा गर्नु आवश्यक छैन । यसै पनि प्रगतिवादी धारा आधुनिक कालकै प्राप्ति हो । त्यसैले राजनीतिक सामाजिक पृष्ठभूमिलाई आधार बनाएर सरल ढंगले काल विभाजन गर्न सकिन्छ । प्रस्तावका रुपमा यो ढाँचा उपयुक्त हुन सक्छ कि :

(१ं) प्र्रथम चरण : पञ्चायतपूर्वको कालखण्ड (आरम्भदेखि २०१६)
(२) द्वितीय चरण : पञ्चायत कालीन युग (२०१७ – २०४५)
(३) तृतीय चरण : पञ्चायत उत्तर युग ः सशस्त्र वर्ग संघर्षको कालखण्ड (२०४६ – २०६२)
(४) चतुर्थ चरण : गणतन्त्रको युग (२०६३ यता)

यसलाई यसरी पनि राख्न सकिएला :

(१) पूर्ववर्ती चरण : आरम्भदेखि पञ्चायती कालखण्डसम्म (२००७ – २०४५)
पूर्ववर्ती चरणलाई क) पञ्चायतपूर्व युग र ख) पञ्चायती युग गरी दुई उपचरणमा विभाजन गर्न सकिन्छ । 
(२) उत्तरवर्ती चरण (१) : सशस्त्र वर्ग संघर्षको चरण (२०४६ – २०६२)
(३) उत्तरवर्ती चरण (२) : गणतन्त्रको युग (२०६३ – यता)

घ) प्रत्येक चरणका स्रष्टाको परिचय र सिर्जनाको विवरण दिइसकेपछि स्रष्टापरक सूक्ष विवेचन सम्भव हुँदैन । तर सम्बन्धित काल÷चरणका सिर्जनाको समग्र प्रवृत्तिगत उल्लेखन आवश्यक हुन्छ । यसमा साहित्येतिहासकार यथासम्भव निर्वैैक्तिक रहेर तत् कालका विधागत सिर्जनाका मूलभूत प्रवृत्ति, प्राप्ति र सीमाको उल्लेख गर्नु आवश्यक र उपयुक्त हुने छ । यसो गर्दा सामाजिक इतिहास र साहित्यको परस्पर सम्बन्ध र साहित्यिक विकासमा सामाजिक इतिहासले पारेको प्रभावको सामान्य मूल्याङ्कन पनि हुन जानेछ । यसलाई अझ मूर्त रुपमा स्पष्ट पार्न म यहाँ कविता विधाको इतिहास लेखनको एउटा रुपरेखा प्रस्तावित गर्न चाहन्छु । 

प्रगतिशील नेपाली कविताको इतिहास
पहिलो अध्याय
१. प्रगतिशील नेपाली कविताको पृष्ठभूमि
१.१ राजनीतिक पृष्ठभूमि 
(ऐतिहासिक र समकालीन)
१.२ सामाजिक पृष्ठभूमि (आर्थिक, सांस्कृतिक समेत) 
(ऐतिहासिक र समकालीन)
१.३ साहित्यिक पृष्ठभूमि
(ऐतिहासिक र समकालीन) 


दोस्रो अध्याय
२. प्रगतिशील नेपाली कविताको आरम्भ र विकास 
२.१ प्रगतिशील नेपाली कविताको आरम्भ÷उठान 
२.२ प्रगतिशील नेपाली कविताको विकास क्रम
यस अन्तर्गत चरण÷काल विभाजन गर्ने 
(१ं) प्र्रथम चरण ः पञ्चायतपूर्वको कालखण्ड (आरम्भदेखि २०१६)
(२) द्वितीय चरण ः पञ्चायत कालीन युग (२०१७ – २०४५)
(३) तृतीय चरण ः पञ्चायत उत्तर युग ः सशस्त्र वर्ग संघर्षको कालखण्ड (२०४६ – २०६२)
(४) चतुर्थ चरण ः गणतन्त्रको युग (२०६३ यता)
(यस खण्डमा प्रत्येक चरणको चिनारी दिने । सम्बन्धित चरणका स्रष्टाहरुको परिचय र तिनका सिर्जनाको विवरण दिने । प्रत्येक चरण÷कालखण्डका स्रष्टा र सिर्जनाको प्रविष्टिमा क्षेत्रीय तथा लिङ्गीय उपस्थितिप्रति सचेत रहने ।) 
तेस्रो अध्याय 
प्र्रथम चरणको प्रगतिशील नेपाली कविता (आरम्भदेखि २०१६)
प्रथम चरणका प्रमुख प्रवृत्तिको सङ्क्षिप्त विवेचना र त्यस प्रवृत्तिको निर्माणमा संलग्न ÷सक्रिय स्रष्टाहरु र तिनका प्रमुख सिर्जनाको उल्लेख । प्रमुख प्रवृत्ति यी हुन सक्छन् ः 
क) दिल्ली सम्झौता तथा भारतीय विस्तारवादको विरोध तथा आलोचना
ख) पुँजीवादी – साम्राज्यवादी उत्पीडनको 
ग) महिलामाथिको सामन्ती तथा पितृसत्तात्मक उत्पीडनको विरोध तथा आलोचना
आदि..............
अध्यायका अन्त्यमा, निष्कर्ष 
चौथो अध्याय
द्वितीय चरणको प्रगतिशील नेपाली कविता (२०१७ – २०४५)
पाँचौं अध्याय 
तृतीय चरणको प्रगतिशील नेपाली कविता (२०४६ – २०६२)
छैठौं अध्याय 
चतुर्थ चरणको प्रगतिशील नेपाली कविता (२०६३ यता)
अध्यायभित्र सामग्री विश्लेषणमा ध्यान दिनु पर्ने कुराहरु :
(माथि दिइएको नमुना अनुरुप प्रत्येक चरणमा पाइने प्रवृत्तिलाई शीर्षकीकरण गरी तत् तत् प्रवृत्तिको निर्माणमा सक्रिय स्रष्टा र तिनका प्रमुख सिर्जनाको उल्लेख गर्दै जाने । त्यस क्रममा कुन प्रवृत्ति परम्पराको निरन्तरताका रुपमा र कुन त्यस चरणको नवीन प्रवर्तनका रुपमा आएका हुन् भन्ने कुराको व्याख्या पनि गर्दै जाने । साथै, ती प्रवृत्तिले तत्कालीन सामाजिक यथार्थसँग के कस्तो सम्बन्ध राख्दछन् भन्ने कुराको व्याख्या पनि गर्ने । अध्यायका अन्त्यमा निष्कर्ष दिने । निष्कर्षमा सम्बद्ध चरणका प्रगतिशील कविताको रचनात्मक स्थिति, प्रवृत्तिगत वैशिष्ट्य, पूर्ववर्ती चरणका तुलनामा त्यस चरणका प्रवृत्तिगत नवीनता र प्राप्ति, सामाजिक यथार्थसँग कविताको सम्बन्ध तथा यथार्थको प्रतिबिम्बनमा कविताको सामथ्र्यका कोणबाट निष्कर्षीकरण गर्ने ।

सातौं अध्याय

उपसंहार

अन्तिम अध्यायका रुपमा उपसंहार राख्न सकिन्छ । यसमा पूर्ववर्ती सबै अध्यायको निष्कर्ष प्रस्तुत गर्नु उपयुक्त हुनेछ ।

अन्त्यमा अनुक्रमणिकाको व्यवस्था गरी लेखक र कृतिको ष्लमभह प्रस्तुत गर्नु राम्रो हुने छ । त्यसै गरी परिशिष्टमा साहियित्क इतिहासका प्रमुख घटना, साहित्यिक पत्रपत्रिकाको प्रकाशन जस्ता पक्षसँग सम्बन्धित सूचनाहरुको प्रस्तुति पनि आवश्यक र उपयुक्त हुने छ । 


अन्त्यमा ,
कविता विधाका लागि प्रस्तावित यो ढाँचा अन्य विधाको इतिहास लेखनका लागि पनि उपयुक्त हुन्छ भन्ने विश्वास मैले लिएको छु । अन्य नेपाली भाषाका साहित्यको इतिहास लेखनमा भने चरणगत काल विभाजन र प्रवृत्तिलाई बेग्ला बेग्लै अध्यायमा नछुट्याई चरणगत रुपमा छुट्याइएका अध्यायभित्रै स्रष्टा र तिनका सिर्जनाको विवरणसँगै प्रवृत्तिको व्याख्या पनि सोही अध्यायमै गर्न सकिन्छ । जसरी गरे पनि सामग्री विश्लेषण गर्दा माथि सङ्केतित आधारहरुको उपयोग गर्नु आवश्यक र उपयुक्त हुने छ ।

No comments:

Post a Comment