Tuesday, September 12, 2017

एकल कविता वाचनमा प्रलेसका महासचिव आर.एम. डंगोल

त्रिशूली (नुवाकोट), २५ भदौ २०७४ । कवि आरएम डंगोलको एकल कवितावाचन शनिबार सदरमुकाम विदुरमा सम्पन्न भएको छ । 
साढे दुई दशकदेखि साहित्य साधनामा सक्रिय डंगोल गृह जिल्लामा पहिलो पटक एकल कविता वाचन लिएर उपस्थित हुनुभएको हो । विदुर –२ शेरामा जन्मिनुभएका कवि तथा समालोचक डंगोल राजधानीमा प्राध्यापनमा पनि संलग्न हुनुहुन्छ । 
त्रिशूली वाङमय प्रतिष्ठान तथा प्रगतिशील लेखक संघ र साहित्य समाज नुवाकोटको संयुक्त आयोजनामा भएको कार्यक्रममा ‘अन्तर’, ‘घर बनाउँदै गर्दा’, ‘घडी समय’, ‘म माझी’, ‘फूलको कम्पन’, ‘जूनको कथा’, ‘पत्थर’, ‘प्रार्थना गीत’, ‘गुनासो’ शीर्षकलगायत दुई दर्जनभन्दा बढी नयाँ पुराना कविता वाचन गरिएको थियो । डङ्गोललाई कविता वाचनमा अन्य कविले समेत सघाएका थिए । त्रिवि नेपाली केन्द्रीय विभागका प्रमुख प्रा. डा. कृष्णप्रसाद घिमिरेले वाचित कवितामाथि समीक्षाका क्रममा डंगोलका कविताले समसामयिक अवस्थाको चिन्तनदेखि मनको कुरालाई बोकेको र उहाँमा सामान्य विषयवस्तुलाई विशिष्ट बनाएर सुन्दर कविता पस्कन सक्ने खुबी भएको बताउनुभयो ।
कार्यक्रममा विदुरनगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगरपालिकाले साहित्य र कलाका लागि नगरसभाबाट बजेटसमेत राखेकाले आगामी दिनमा साहित्यिक कार्यक्रमलाई प्रोत्साहन गरिने बताउनुभयो । 
त्रिशूली वाङ्मय प्रतिष्ठानका अध्यक्ष श्रीहरि फुयाँलले नुवाकोटका स्रष्टा राष्ट्रिय पहिचान निर्माण गर्न सफल रहेकाले नुवाकोटवासीले साहित्यमा शिर ठाडो पार्नसक्ने अवस्था रहेको बताउनुभयो । 
कार्यक्रममा त्रिवि केन्द्रीय क्याम्पसका प्रमुख प्रा. कृष्णप्रसाद आचार्य, नगरपालिकाका उपप्रमुख गीता दाहाल, वडा नं ४ का अध्यक्ष वडाध्यक्ष टलकमान श्रेष्ठ, नेकपा (एमाले)का जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा तथा काठमाडौँंदेखिका साहित्यकारका साथै जिल्लाका स्रष्टाको उल्लेख्य सहभागिता थियो ।कार्यक्रममा प्रतिष्ठानका महासचिव राजेन्द्रमान डंगोलले कवि डंगोलको जीवनी प्रस्तुत गर्नुभएको थियो ।

नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा शुक्रबार नै साहित्य पदयात्रा सम्पन्न भएको छ । बट्टारदेखि शुरु भएको साहित्यिक पदयात्रा नुवाकोटको अशोकबाटिकामा पुगेर सम्पन्न भएको हो । 
नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलको सभापतित्वमा भएको कार्यक्रममा शिक्षासेवी शम्भुप्रसाद शर्मा, प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठ, शिवसुन्दर पुडासैनी, रामकृष्ण भट्ट, आशिक भट्ट, भगवती खनाल, कोमल नेपाल, भगवती लामा, प्रमिला परी, देउती दीर्घायु, सीताराम पौडेल, बुद्धराम चौधरी, सुमित्रा सुमीलगायतले कविता, हाइकु, मुक्तक, सिजोलगायत प्रस्तुत गर्नुभएको थियो ।
http://www.samajkoawaj.com बाट साभार 





























No comments:

Post a Comment