Sunday, October 30, 2016

प्रलेसको देउसी भैलो कार्यक्रम - २०७३ सम्पन्न


प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा यही २०७३ साल कार्तिक १४ र १५ गते देउसी / भैलो कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समितिका अध्यक्ष मातृका पोखरेलको निवासस्थानबाट आरम्भ गरिएको देउसी / भैलो कार्यक्रम कार्तिक १४ गतेको पहिलो दिनमा हामीले नेपाल प्रज्ञा - प्रतिष्ठानका सदस्य - सचिव डा. जीवेन्द्रदेव गिरी, प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय सदस्य भागवत आचार्य , सुशील गिरी, सुनिल गिरी, प्रगतिशील लेखक सङ्घ, नेपालका पूर्व केन्द्रीय सदस्य एवम् कवि जयन्ति स्पन्दन , प्रगतिशील लेखक सङ्घ, नेपालका पूर्व केन्द्रीय कोषाध्यक्ष  एवम् प्राज्ञ नर्मदेश्वोरी सत्याल , उध्योगपति भरत आचार्य ,  वरिष्ठ इन्जिनीयर इन्द्रलाल श्रेष्ठ , कवि चिन्तामणि शिवाकोटी ,  कवि भिष्म उप्रेती , कवि बासुदेव अधिकारी , कवि द्वारिका श्रेष्ठ , कवि रामप्रसाद ज्ञवाली , कवि मित्रलाल पंज्ञानी , कवि जगत प्रेक्षित , कवि त्रिलोचन आचार्य , कवि भारद्वाज मित्र , नेकपा (माले) का अध्यक्ष सी.पी.मैनाली , सांसद शिवचन्द्र चौधरी र नेकपा (एमाले) का अध्यक्ष के.पी.ओलीबाट  न्यानो माया र सहयोग र सद्भाव प्राप्त भयो ।

यसैगरी दोस्रो दिन कार्तिक  १५ गते  नेकपा (एमाले) का सचिव एवम् साहित्यकार प्रदिप ज्ञवालीको निवासबाट आरम्भ गरिएको  देउसी / भैलो कार्यक्रमलाई   , साझा प्रकाशनका अध्यक्ष डोलिन्द्र प्रसाद शर्मा ,  कवि  राधेश्याम लेकाली , साहित्यकार घनश्यामराज कर्णिकार , प्रगतिशील लेखक सङ्घ, नेपालका संस्थापक अध्यक्ष श्याम प्रसाद शर्मा, निर्मला पुन , साहित्यकार भक्तबहादुर नेपाली , साहित्यकार लाक्पाफुटी शेर्पा , र प्रगतिशील लेखक सङ्घ, नेपालका महासचिव आर. एम.  डंगोलको निवासमा समापन गरिएको कार्यक्रममा   महादेव कोलोनी परिवार , कवि सुरेन उप्रेती, रामकृष्ण सेढाई, उद्धव खरेल , जोगमान गुरुङ र इन्जिनियर बिमल गुरुङबाट न्यानो सद्भाव र सहयोग प्राप्त भएको थियो  ।

यस  देउसी भैलो कार्यक्रममा प्रगतिशील लेखक सङ्घ, नेपालका सल्लाहकार- प्रा. डा. जगदीशचन्द्र भण्डारी , सल्लाहकार- ईश्वरचन्द्र ज्ञवाली, सल्लाहकार- मित्रलाल पंज्ञानी , साहित्यकार- भक्तबहादुर नेपाली ,  सङ्घका अध्यक्ष- मातृका पोखरेल , उपाध्यक्ष- डा. बिन्दु शर्मा ,  उपाध्यक्ष- खेम थपलिया, उपाध्यक्ष- रामप्रकाश पुरी , सङ्घका महासचिव- आर. एम. डंगोल , वरिष्ठ सचिव - पुण्य गौतम विश्वास , सचिव- प्रकाश शिलवाल , सचिव- होमशंकर बास्तोला , कोषाध्यक्ष- विजय राज आचार्य , केन्द्रीय सचिवालय सदस्य- आर.सी. नेउपाने , केन्द्रीय सचिवालय सदस्य -कृष्णहरि भट्ट,   सचिवालय सदस्य- भागवत आचार्य , केन्द्रीय सदस्य- प्रकाश थापा मगर , केन्द्रीय सदस्य -रमेश शुभेच्छु ,केन्द्रीय सदस्य- गौरी दाहाल, कार्यालय सचिव- पुण्य घिमिरे , साहित्यकार- गीता सापकोटा, साहित्यकार- सुरेन उप्रेती ,कलाकारहरु - प्रेक्षा लम्साल ,  दीपक काफ्ले र आशिष तामाङ्ग  लगायतको उपस्थिति रहेको थियो ।


=======================================

प्रगतिशील लेखक सङ्घ केन्द्रीय कार्य समितिद्वारा आयोजित देउसी भैलो कार्यक्रम - २०७३ का लागि तयार गरिएको देउसी गीत/कविता -



उठान  

एउटै चाडमा उन्ने पशु पन्छी र मानिस
तिहारको खुसी बाँड्दै आयौँ आपस आपस
यही दीपावली ज्योत्स्ना जिन्दगीभर चम्कियोस्
देउसेका शुभेच्छाले पाइला पाइला चिनोस् ।

देउसी गीत १

आहै भनभन दाजुभाइ  .............देउसिरे
भनभन दिदी बहिनी .......... देउसिरे
स्वर मिलाई भन ........... देउसिरे
तल मिलाई भन .... देउसिरे
हामी त्यसै आएनौँ , प्रलेसले पठायो
संस्कृतिकर्मी खोजेर, आसिक दिन खटायो
जसले संस्कृति चिन्दैन, ऊ मरे होही रुँदैन
बेलैमा संस्कृति  चिनेर, नमानी पर्व हुँदैन । (देउसी गीतको लयमा)

आहै भनभन साथी हो : देउसिरे
भनभन  सँगी हो :  देउसिरे
स्वर मिलाई भन ........... देउसिरे
ताल मिलाई भन .... देउसिरे
वर्षै र दिनको .. देउसिरे .......
तिहार यो पर्व .... देउसिरे
मनाउनै पर्ने .... देउसिरे

देउसी र भैलो .... देउसिरे
ए खेल्नै पर्ने .... देउसिरे
झिलिमिली भिलिमिली.... देउसिरे
केको झिलिमिली .... देउसिरे
फुलको झिलिमिली.... देउसिरे
बत्तीको झिलिमिली .... देउसिरे
चाडको झिलिमिली .... देउसिरे
भ्रातृत्व झिलिमिली.... देउसिरे
भगिनित्व झिलिमिली.
हिमालको झिलिमिली ... देउसिरे
पहाडको झिलिमिली.....देउसिरे
तराइको झिलिमिली ...देउसिरे
ए देउसिरे भन.... देउसिरे

गीत
साहित्य स्रष्टा मिलेर , संस्कृति गाथा खोजेर
बाजेको लौरो टेकेर, नातिको जाँगर बोकेर
यहाँको आँगन रोजेर, देउसिरे खेलौँ भनेर
आएका हामी बन्धु हो, देउसिरे भन मिलेर । (देउसी गीतको लयमा)

आहै भनभन दाजुभाइ ... देउसिरे
भनभन दिदी बहिनी  ....देउसिरे
स्वर मिलाई भन ........... देउसिरे
तल मिलाई भन .... देउसिरे
श्रद्धाले भन..........देउसिरे
खुसीले भन.......देउसिरे


कविता

जाग जाग अब जाग न जाग
लाग उन्नतिविषे अब लाग
घोर नीद अबता परित्याग
भो भयो अति सुत्यौ अब जाग ।

                                                    - (धरणीधर कोइराला)

 देउसी गीत २

आहै भनभन दाजुभाइ ... देउसिरे
भनभन दिदी बहिनी  ....देउसिरे
स्वर मिलाई भन ........... देउसिरे
तल मिलाई भन .... देउसिरे


गीत

हामी त्यसै के आउँथ्यौँ कलमको नाता गाँसियो
प्रगतिशील लेखक संघले यता पठायो
साहित्य कला संस्कृति धेरै पछि पर्यो रे
देउसी खेली गर भन्ने काइदा सिकायो । (देउसी गीतको लय)

भनभन दाजुभाइ  .....देउसिरे
भनभन दिदी बहिनी ........ देउसिरे
स्वर मिलाई भन ........... देउसिरे
तल मिलाई भन .... देउसिरे
लेखक भन्नु .... देउसिरे
युगका स्रष्टा .... देउसिरे
युगका द्रष्टा .... देउसिरे
कलमजीवी .... देउसिरे
कलम योद्धा    देउसिरे
उनैको कलम.......
बन्दक नहोस्
उनैको श्रम
शोषण नहोस्
आहै भन भन दाजु भाइ
राम्ररी भन
सुर मिलाई भन
तल मिलाइ भन


कविता अंश

ताप्छन् घाम उचा उचा घरहरु रुन्छन् नि झुप्रा तल
कावा खाइरहेछ चील नभमा लुक्छन् परेवा तल
यौटा पेल्छ बनेर कोल र सयौँ पेलिन्छ पेचा बनी
उल्टो लागि रहेछ न्याय युगको के भन्नु भन्दा पनि ।

श्रममा बाँच्ने
क्सैको पनि
शोषण नहोस् .
भोको र नागो
कोही पनि नहोस्
औषधी पानी
नपाइकन
कसैको ज्यान
नजाओस् त्यसै
शिक्षाको ज्योति
नपाइ कोही
पछाडि नहोस्

कविता
सयमा दश पाँच धनी गनिनु
अरुले उसकै करिया बनिनु
विधिको यदि यै छ विधान भने
अब त्यो विधिको पनि आयु पुग्यो । महानन्द सापकोटा
........................
आहै भनभन दाजुभाइ ... देउसिरे
है भनभन दिदी बहिनी  ....देउसिरे
है स्वर मिलाई भन ........... देउसिरे
है तल मिलाई भन .... देउसिरे ।

देउसी गीत २ 
(आँदी खोला उर्लेर आयोको लयमा)

झिलिमिली तिहारै आयो
गाउँ बस्ती खुसीले रमायो ।

हिमालचुली पल्लोपटि स्वच्छ संलो खोला
माग्न आए देउसे भैले नभन्दिनु होला ।
झिलिमिली तिहारै.............।

हिमालचुली ओल्लोपटि उपत्यकाबाट
द्यौसी खेल्न आयौँ हामी खोलिदिनु ढाट
झिलिमिली तिहारै.............।

तराई पहाड हिमालका बन्धुहरु मिली
सयपत्री मखमली माला झिलिमिली
झिलिमिली तिहारै.............।

थुँगा थुँगा नसम्झनु हाम्रो मालालाई
संस्कृतिको समर्थनमा सलाम सबैलाई

झिलिमिली तिहारै.............।

छरछिमेकी मिलेर बसेको, मिलेर बसेको
गाउँघर जस्तै सहरमा जमेको सहरमा जमेको
झिलिमिली तिहारै.............।




कविता
गरीब भन्छौ सुखको मझैँ धनी
मिल्दैन संसारभरि कतै पनि
विलासको लासल दास छैन म
मीठो छ मेरो रसिलो परिश्रम । –लक्ष्मीप्रसाद देवकोटा

आहै भनभन दाजुभाइ ... प्रलेस
है भनभन दिदी बहिनी  ....प्रलेस
है स्वर मिलाई भन ....प्रलेस
है तल मिलाई भन ....प्रलेस
प्रलेश भन......प्रलेस
बली राजाले ......प्रलेस
पठाको हैन.........प्रलेस
यमराजले .............प्रलेस
खटाको हैन.............प्रलेस

२ मान्छे बिगार्ने जति लोभ पाप हुन्
मान्छे सपार्ने बलिदान त्याग हुन्
बिग्रोस् न जे बिग्रनु हुन्न चिन्तन
संसार बिग्रन्छ नि बिग्रिए मन । (रामप्रसाद ज्ञवाली)

देउसी गीत ३
(समसामयिक )
कविता 

फोर्दै जाऊ गिरि र पहरा झार साना गिटीमा
कुँद्दै जाऊ अलिअलि गरी  शेष हून् शालिग्राम
गाल्दै जाऊ खनिज गतिला धातु छानेर गाल
खोस्री खोस्री जमिन तह यो विश्वको सिर्ज टार ।

आहै भनभन दाजुभाइ ... देउसिरे
है भनभन दिदी बहिनी  ....देउसिरे
है स्वर मिलाई भन ........... देउसिरे
है तल मिलाई भन .... देउसिरे
देउसिरे भन ..............देउसिरे

कविता

 देउसी खेल्ने घरहरु अरु कति थिए थिए
यै घरको आस्था चिनी हाम्रा पाइला मोडिए
जुन घरमा माया मिल्छ त्यै घरमा गइन्छ
झ्याली मादल ठट्ताएर द्यौसी खेलिन्छ ।

भनभन दाजुभाइ : के भन्ने
स्थायी शान्ति : ले भन्ने
गरी खान : दे भन्ने
उद्योग धन्दा : खोल भन्ने
भ्रष्टाचारी : पोल भन्ने
चुनाव मिति : तोक भन्ने
अत्याचारी : ठोक भन्ने
विदेश जान रोक भन्ने
स्वदेशमा मौका : छोप भन्ने
शैक्षिक व्यापार : रोक भन्ने
स्वास्थ्यको व्यापार : रोक भन्ने
प्राज्ञिक व्यापार : रोक भन्ने
चेतना वीज : रोप भन्ने
देशको नक : राख भन्ने
नमास हाम्रो: साख भन्ने
कालाबजारी : चिन भन्ने
कानुनी बाटो :  हिँड् भन्ने
दासतालाई  : खेद भन्ने
आस्थाको दियो : बाल भन्ने
आशाको दियो बाल भन्ने
बेरोजगारी : मास भन्ने
एकता माला : गाँस भन्ने
साझा खुसीमा : हाँस् भन्ने

अघि सर अघि सर साहस जोड
काँतर पन ली प्राण नछोड
पाइन बलको अब देखाऊ
बैरीलाई मार भगाऊ
चम्क युवक अब चम्क न चम्क
छाती फुकाइ लम्क न लम्क । (सिद्धिचरण श्रेष्ठ)

देउसी गीत ४
(भैली गीत)

आहै भनभन दिदी बहिनी भैली
भनभन काकी फुपु ............भैली
है स्वर मिलाई भन .............भैली
है ताल मिलाई भन .... ............भैली
भैलीनी भन ............भैली
भैलिनी आयौँ आँगन..समानता शिक्षा मागन
हे औसी बारो गाइतिहारो भैलाृ....................
हामी त्यसै आएनौ
प्रलेसले पठायो
घरभित्र मात्रै नबसे
दाजु भइले उकासे
आमा दिदी बैनी हो
घरमा बस्नु बन्धन हो
भनेर हाम्रै माइतीले
भैलिनी खेल्न पठाए

आहै भनभन दिदी बहिनी .................भैली
भनभन काकी फुपु ............भैली
है स्वर मिलाई भन .............भैली
है ताल मिलाई भन .... ............भैली
भैली भन ............भैली

प्रगतिशील लेखक संघका (दिदी बहिनी घरैसम्म)
मादल ठोक्तै भैली खेल्दै नाच्तै आयौँ छम्म छम्म
तिहारको खबर ल्यायौ, मखमली उनी आयौ
माइतीलाई आसिक बाँड्दै
तिहारको खुसी साट्तै
 नाच्तै आयौँ छम्म छम्म ।

आहै भनभन दिदी बहिनी भैली
भनभन काकी फुपु ............भैली
है स्वर मिलाई भन .............भैली
है ताल मिलाई भन .... ............भैली
भैली भन ............भैली
नारी कमजोर हुदैनन् ....हिम्मत हार्दैनन्
आफ्नो वर्ग अन्यायको बन्दी पार्दैनन्
छोराछोरी बराबरी भेद गर्दैनन्
जस्तै काम गर्न पनि पछि पर्दैनन्

ए भनभन काकी फुपु ............भैली
है स्वर मिलाई भन .............भैली
है ताल मिलाई भन .... ............भैली
भैलीनी भन ............भैली

आसिक दिन्छौँ ..................भैली
हाम्रा माइती : महान् हुन्
संसारका  : आहान् हुन्
छोराछोरी : विद्वान् हुन्
बाआमाले : आसिक दिउन्
गोठको गाई : नमरोस्
दुखी भै बस्नु : नपरोस्
कुनै माइती नेता हुन्
कुनै माइती : मन्त्री हुन्
कुनै माइती : वकिल हुन्
कुनै माइती : हाकिम हुन्
कुनै माइती : प्रोफेसर हुन्
कुनै माइती : उद्यमी हुन्
रोगले साइनो  नगाासोस्
कालले गाउँ नहाँसोस्
बाआमा वृद्धाश्रम : नजाउन्
घरैमा माया : पाइरहून्
सन्तान विदेसी : नबनून्
ऋर्काका भाँडा : नमाझून्
भाफ्नै कममा : रमाउन्
नाम र दाम : कमाउन्
भकारीमा : धान होस्
माइतीका शिरमा ज्ञान होस् ।


देउसी गीत ५
(आसिक गीत )

यस घरका परिवारकोे भलो होस् है भलो
धान, मान ज्ञान  फल्ने खलो होस् है खलो
दुनियाँको आस्था केन्द्र बनोस् यही आँगन
द्योसे भैले टोलीबाट लाख लाख सलाम ।

ए भन  भन दाजुभाई ............शुभाशिष
भनभन दिदी बहिनी .......शुभाशिष
शुभाशिष भन .............


कविता 
(शुभकामना)

कामना ज्योति ज्योतिमा बत्ती बालेर कामना
सयौ बास्नामय थुँङ्गा माला गाँसेर कामना
माथ चम्काउने रङ्गी  टीका मुछेर कामना
 सिँढी उन्नतिका कप्तै कोटियौँ शुभ कामना
कोटियौँ मात्र के भन्ने अरबौँ शुभकामना
अरबौँ मात्र के भन्ने खरबौँ शुभकामना
सङ्ख्यामा कसरी गन्ने शंखौँ पध्मौँ छ कामना
शुभ सकल्पका साथ सम्पूर्ण शुभकामना ।।


यसै घरका बाबा आमा समाजपूज्य  बनून्
यसै घरका लालाबाला ठावैपिच्छे अघि बढून्
यसै घरका युवाहरू समाजका काँध बनून्
सबै लागून् सबै जुटुन् विश्व जित्ने नाम बनून्

व्यवसाय उद्योग धन्दा फस्टाएर जाओस्
कर्मवीर पाखुरीले उच्च मान पाओस्
विकास होस् आर्जन होस् अरु अरु भन्दा
बन्द नहोस् कैल्यै पनि हाम्रो उद्योग धन्दा ।

लोडसेडिङ हुन्छ झ्याप्पै दिक्क बनाउँछ
बाटो हिँडूँ भन्दा जाम खुट्टा कमाउँछ
अब अब लोडसोडिङ जाम केही नहोस्
बाटो खुलोस् बाटैभरि झिलिमिली छाओस् ।


ए भन  भन दाजुभाइ :...........शुभाशिष
भनभन दिदी बहिनी .......शुभाशिष
शुभाशिष भन .............

 देउसी गीत ६ 
(बिसौनी) 

 देउसी हो भैले हो
ऋर्को साल केहुन्छ के हुन्छ
नाच्ने नै ऐले हो
साथी हो संगी हो
अर्को साल के हुन्छ के हुन्छ
गउने नै ऐले हो ।

सेल रोटी नि पकाउनु भा रैछ
दियो वत्ती जगाउनु भारैछ
द्यौसे हो..............।

झ्याल  ढोका नि सजाउनु भा रैछ
द्यौसी गीत बजाउनु भारैछ
द्यौसे हो भैले हो............।

चाडमध्ये रमाइलो चाड तिहार
ऋायौँ लेखक कवि र कलाकार
द्यौसे हो भैले हो ...........।

हेर्नुपर्छ नाचगानको रमिता
आसिकले सिर्जियोस् कविता
द्यौसे हो भैले हो ...........।

सबै चिने जानेकै ठाउँ रैछ
राम्रा छिमेक रमाइलो गाउँ रैछ
द्यौसे हो भैले हो ...........।
कविता

बिसौनी आसिक कविता 

उचो तेजी माथा चरण चरणै झुक्नु नपरोस्
खुला सङ्लो भैयोस् डर धक लिई लुक्नु नपरोस्
कुनै पीडा चिन्ता मन मन लिई दुख्नु नपरोस्
गरी बर्खे हल्ला शरद नपुगी सुक्नु नपरोस् ।

(सङ्कलन संयोजन :  रमेश शुभेच्छु)

=========================================

कार्यक्रमका तस्विरहरू 














































































































































































































































































































































































============================================

भिडियोमा प्रलेस देउसी / भैलो - २०७३ 
( तल क्लिक गर्नुहोला ) 

प्रगतिशील लेखक सङ्घ, देउसी भैलो कार्यक्रम - २०७३ ।
प्रलेस देउसी - २०७३ ।

No comments:

Post a Comment