Saturday, April 7, 2018

प्रलेस, राष्ट्रिय परिषद्को तेस्रो बैठक (२०७४ ,चैत्र २७) इलाममा सम्पन्न।

परिपत्र 







-----------------------------------------------------------------


राष्ट्रिय पूँजीको विकासमा जोड दिदैं इलाम घोषणापत्र जारी


-प्रकाश सिलवाल
चमैयाचित्रे (इलाम), २९ चैत २०७४ । प्रगतिशील लेखक संघको तेस्रो राष्ट्रिय परिषद् बैठकले राष्ट्र, राष्ट्रियता, जनजीविकाका सवाललाई केन्द्रित गरी राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने लगायत १५ बुँदे इलाम घोषणापत्र - २०७४ जारी गरेको छ ।
निर्वाचनमा वाम दलहरुले गरेको प्रतिबद्धता बमोजिम राष्ट्रिय पूँजीको विकासमार्फत् स्वदेशमै रोजगार सिर्जना गरी स्वाधिन अर्थतन्त्रमार्फत् जनताको मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्दै समृद्धि र वैज्ञानिक समाजवादतर्फ मुलुकलाई अगाडि बढाउन पनि बैठकले आग्रह गरेको छ ।
देउमाई नगरपालिका–२, चमैया चित्रेस्थित शहीद रत्न बम प्रतिष्ठानको संग्रहालयमा मंगलबार सम्पन्न बैठकले मुलुकमा गणतन्त्र स्थापना भए पनि देशीय सामन्तवाद तथा पश्चिमा सांस्कृतिक साम्राज्यवाद र भारतको एकाधिकार पूँजीवादी प्रवृत्ति, असमान सन्धि सम्झौता, चीनको बढ्दो महत्वाकाँक्षा, नेपाली सिमानामा हुने हस्तक्षेप तथा शक्ति राष्ट्रहरुबाट नेपाललाई रणक्षेत्र बनाउने खतराप्रति सतर्क हुँदै साहित्यिक सांस्कृतिक आन्दोलनलाई साझा मोर्चाका रुपमा थप गतिशील हुने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
राष्ट्रिय जीवनका राजनीति, इतिहास, कला, साहित्य र संस्कृतिमा थोपरिएका विदेशी प्रभुत्ववादी छलछाम, भाषिक तथा सूचना साम्राज्यवादी षड्यन्त्र र हस्तक्षेप अन्त्य तथा न्यायपूर्ण, समतामूलक समृद्ध समाज निर्माणका लागि विचार र कलाको संयोजनसहित सिर्जनात्मक अभियानमार्फत् खबरदारी र प्रतिवाद गर्ने निर्णय पनि गरेको पारित प्रस्तावमा उल्लेख छ ।
मुलुकलाई सांस्कृतिक रुपान्तरणमा अग्रसर गराउनुपर्ने यस घडीमा कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु, राष्ट्रपति, प्रधानमन्त्री र माथिल्लो तहमा रहेका पदाधिकारी र पार्टीका नेताहरुको जीवनशैली तथा विभिन्न कार्यक्रमहरुमा जाँदा आउँदा देखिने भद्दा, बिलासीपूर्ण र विकृतिपूर्ण सम्मान तथा स्वागतको व्यवहार तथा शैली र परम्परालाई बन्द गर्न पनि बैठकले माग गरिएको छ ।
‘राष्ट्रिय चाड, पर्व, रीतिरिवाज एवं संकृतिलाई जनसापेक्ष, जडता र आडम्बरमुक्त एवं प्रगतिशील वैज्ञानिक तथा सांस्कृतिक रुपान्तरण अनुकूलको शिक्षा नीति लागू गरी सामाजिक सांस्कृतिक स्खलन र विघठनबाट बचाउन वैचारिक र प्रशिक्षणमूलक अभियानात्मक तथा अध्ययन, बहस जस्ता कार्यक्रमलाई थप प्रभावकारीरुपमा सञ्चालनका लागि यो बैठक संकल्प गर्दछ’, पारित प्रस्तावमा भनिएको छ, ‘वर्तमान आधुनिक समाजमा पनि महिला हिंसा, कथित बोक्सी प्रथा, बलात्कार, जातीय विभेद् र मानिस मानिसबीचको अमानवीय व्यवहारका घटनाहरु हुनु अत्यन्त दुःखद् पक्ष हो । यो बैठक त्यस प्रकारका घटना रोक्न सबै तहका सरकारबाट कडा कानुनी र नीतिगत व्यवस्था गर्न तथा यस्ता घटनामा संलग्न आरोपी र अभियुुक्तमाथि हुने राजनीतिक संरक्षणको सशक्त विरोध गर्दै सिर्जनात्मक माध्यमबाट त्यस्ता प्रवृत्तिको भण्डाफोर गरी सामाजिक चेतना वृद्धिका लागि पहल गर्ने निर्णय गर्दछ ।’
नारी शरीरलाई वस्तुकरण गर्ने बढ्दो पूँजीवादी तथा उपभोक्तावादी संस्कृतिविरुद्ध सचेत र अभियानमुखी सांस्कृतिक कार्यक्रमहरु गर्ने तथा कथित सुन्दरी प्रतियोगिता, ब्युटी प्याजेन्ट, मिस टिन, लिटल ट्यालेन्टलका नाममा महिलाको बौद्धिकता नाप्ने कथित नाफामुखी परियोजनाहरुको भत्र्सनासहित लेख, रचना तथा प्रतिरोधात्मक कार्यक्रमहरु सञ्चालन गर्ने पनि बैठकले निर्णय गरेको छ ।
मुलुकमा लोकतान्त्रिक गणतन्त्रको सरकार बनेपछि पनि स्रष्टाहरुमाथि सिर्जनात्मक कर्म र संगठनात्मक काम गरेका आधारमा दमन, धरपकड गर्ने, विनापूर्जी हिरासतमा लिने र कारबाही गर्ने कार्यको विरोध गर्दै सो घोषणापत्रमा संघीय संरचनाअनुसार सातै प्रदेशमा स्वायत्त प्रज्ञा प्रतिष्ठान चाँडो गठनको वातावरण मिलाउन माग गरिएको संघका अध्यक्ष मातृका पोखरेलले जानकारी दिए ।
प्रस्ताव तयारीका लागि उपाध्यक्ष डा कृष्णराज अधिकारीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको थियो । बैठकले महासचिव आर. एम. डंगोल र कार्यबाहक कोषाध्यक्ष कृष्णहरि भट्टले प्रस्तुत गरेको सांगठनिक र आर्थिक प्रतिवेदन छलफलसहित पारित गरेको थियो ।
शहीद रन्तकुमार वान्तवाको ३९ औँ स्मृति दिवसका अवसरमा आयोजित बैठकको उद्घाटन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए । रासस

http://www.dainiknepal.com बाट साभार 

































































































































































































































































































































































=============================================


प्रलेस, राष्ट्रिय परिषद्को तेस्रो बैठक  (२०७४ ,चैत्र २७) मा सङ्घका महासचिव आर. एम्.डङ्गोलद्वारा  प्रस्तुत प्रतिवेदन । 


अध्यक्ष तथा राष्ट्रिय परिषद्का सदस्य साथीहरू, 

प्रगतिशील लेखक सङ्घ, नेपालको रुम्जाटार, ओखलढुङ्गामा सम्पन्न (फागुन १३–१४, २०७३) दोस्रो राष्ट्रिय परिषद् बैठकको एक वर्षपछि हामी तेस्रो राष्ट्रिय परिषद् बैठकमा सहभागी हुँदै छौँ । दसबुँदे रुम्जाटार घोषणा–पत्र २०७४ जारी गर्दै र २०७४ सालका लागि प्रस्तावित कार्यक्रमिक योजना–प्रस्ताव अनुमोदन गर्दै सम्पन्न उक्त बैठकले तेस्रो राष्ट्रिय परिषद् बैठक कन्चनपुरमा आयोजना गर्ने प्रस्ताव अनुमोदन गरेकोमा विविध कारणले यो सम्भव भएन । प्रलेस इलाम शाखाको प्रस्ताव र आयोजनामा यो बैठक यस रूपमा आयोजित हुँदै छ । यसका लागि प्रलेस इलाम शाखालाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । झापा आन्दोलनका क्रममा सहादत प्राप्त गरेका एक कुशल र जुझारु वाम योद्धा रत्नकुमार बान्तवाको जन्मथलोमा उनकै स्मृति दिवसको अवसर पारेर आयोजित यस बैठकमा म सर्वप्रथम सहिद रत्नकुमार बान्तवालगायत सामाजिक, सांस्कृतिक रूपान्तरणको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात/अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । 

१. पृष्ठभूमि 

साथीहरू 
प्रगतिशील लेखक सङ्घ, नेपाल नेपाली समाज र संस्कृतिको प्रगतिशील रूपान्तरणको सिर्जनात्मक अभियान र आन्दोलनसँग जोडिएको लेखकीय मोर्चा हो । देशीय सामन्तवाद दलाल पुँजिवाद र अन्तर्राष्ट्रिय सांस्कृतिक, वित्तीय, सामरिक तथा राजनीतिक साम्राज्यवाद र विस्तारवाद विरोधी आन्दोलनमा यस संस्थाले विचार, सिर्जना र सङ्गठनका माध्यमबाट हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने प्रयत्न गर्दै आइरहेको छ । मानव समाज निर्माण र विकासका सन्दर्भमा सबैभन्दा उन्नत विश्वदृष्टिकोण सहितको वैचारिक शक्तिबाट चलायमान यस संस्थाले राष्ट्रिय अन्तर्राष्ट्रिय उथलपुथलपूर्ण राजनीतिक, साहित्यिक सांस्कृतिक आन्दोलनबाट वैचारिक ऊर्जा तथा अनुभव र शिक्षा पनि प्राप्त गर्दै आइरहेको छ । कुनै पनि रूपमा वैयक्तिक जीवनमा थोपरिने कुरूपता, रुढताको ऐँठनबाट मुक्त व्यक्तित्व निर्माणको प्रश्नमा होस् वा राष्ट्रिय जीवनमा थोपारिने विदेशी प्रभुत्व, छलछाम, षड्यन्त्र वा हस्तक्षेपको प्रश्नमा होस्, सिर्जनाको माध्यमबाट सुन्दर व्यक्तित्व निर्माण र न्याय तथा समतामूलक समाज व्यवस्था स्थापना गर्नु तथा समृद्ध मुलुकको निर्माणमा बल पु¥याउनु यस संस्थाको मूल अभीष्ट हो । 

मुलुक स्थानीय, प्रदेश तथा संघीय निर्वाचनको चरण पार गर्दै समावेशिता, धर्मनिरपेक्षता र संघीयताको मूत मर्मलाई सम्बोधन गर्न गणतान्त्रिक संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । मुलुकको श्रमशक्ति विदेशी बजारमा छरिएको छ । मुलुकको अर्थतन्त्रको सूचक भरपर्दाे र सकारात्मक देखिन्न । यतिबेला मुलुक या त रेमिट्यान्स या त विदेशी राष्ट्रहरूको अनुकम्पामा निर्भर हुनुपर्ने अवस्थामा पुगेको छ । हाम्रो आचार विचार, व्यवहार र संस्कृतिमा सामन्तवाद जीवितै छ । राजनीतिक अस्थिरताकै कारण वर्तमान सङ्क्रमणकालीन परिवेशमा नेपाली समाज उपभोक्तावादी संस्कृतिको प्रयोग र परीक्षणस्थल बन्न पुगेको छ । अहिले विश्वमै शक्ति राष्ट्रहरूको आर्थिक, सांस्कृतिक भूमण्डलीकरण व्याप्त छ, यसबाट हामी पनि अछुतो छैनौं । 

२०७२ सालको महाविनाशकारी भूकम्पबाट आहत हामीले हाम्रो आन्तरिक राष्ट्रियताको कमजोरीको फाइदा उठाएर छिमेकी राष्ट्रबाट थोपारिएको नाकाबन्दीलाई पनि भुलेका छैनौँ । जनजीविका, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको सवालमा अनेकौँ समस्या यथावत् छन् । यस्तो बेला साझा मोर्चा हुनुको सीमा र गरिमालाई ख्याल गरिकन यी साझा समस्याका बारेमा हामी प्रगतिशील स्रष्टाहरूले उत्तरदायित्वपूर्ण, हस्तक्षेपकारी सिर्जनात्मक भूमिका निर्वाह गर्नु आवश्यक छ । यस दृष्टिले प्रगतिशील लेखक संघको गरिमा र भूमिका अझ महत्वपूर्ण र उल्लेखनीय बन्न पुगेको छ । 

दसौँ राष्ट्रिय सम्मेलनपछिको नया नेतृत्वले आफ्नो तीन वर्षीय कार्यकालको दोश्रो वर्ष गुजारिसकेको र आउँदो १ वर्षभित्र परिमार्जित विधानको मूल मर्मअनुसार सङ्गठनलाई अझ व्यापक र गतिशील बनाउने प्रयत्नअनुरूप विभिन्न वैचारिक, सिर्जनात्मक र साङ्गठानिक गतिविधि सञ्चालन गर्नु आवश्यक भएकोले विगतका भूमिकाको आत्मसमीक्षा मूल्याङ्कन तथा आगतको लागि कार्यक्रमिक रणनीति योजना तर्जुमामा यो बैठक महत्वपूर्ण हुने आशा गरेको छु । 

२. साङगठानिक क्रियाशीलता 

२.१ राष्ट्रिय परिषद्को दोस्रो बैठक तथा त्यसयता बसेका सचिवालय बैठकका निर्णयहरू :
२.१.१ दोस्रो राष्ट्रिय परिषद् बैठक (२०७३ फागुन १३– १४, रुम्जाटार) का निर्णयहरू तथा रुम्जाटार घोषण पत्र :
* दोलखाको चरिकोटमा गजल विधासङ्ग सम्बन्धित प्रशिक्षण मूलक कार्यक्रम तथा रचना वाचन कार्यक्रमको आयोजना गर्ने, 
* संस्कार परिवर्तन सम्बन्धी वैचारिक कार्यक्रमको आयोजना गर्ने, 
* उपत्यकामा नेपाल भाषा–साहित्यसम्बन्धी गोष्ठीको आयोजना गर्ने, 
* नेपाली पुरस्कार र सम्मान संस्कृतिसम्बन्धमा गोष्ठीको आयोजना गर्ने, 
* इतिहास लेखन परियोजनालाई मूर्त रूप दिने, 
* प्युठानमा वृहत् काव्यगोष्ठीसहित कविता÷काव्यसम्बन्धी वैचारिक तथा प्रशिक्षणमूलक कार्यक्रमको आयोजना गर्ने, 
* प्रत्येक प्रदेशमा यस वर्षभित्र आयोजना गरिने सम्मेलन आयोजक समिति, प्रदेश सम्मेलनका क्रममा एक–एक वटा वैचारिक÷सिर्जनात्मक कार्यक्रमको आयोजना  गर्ने, 
* प्रदेश सम्मेलनसम्ममा प्रत्येक प्रदेशले आफ्नो मुखपत्र प्रकाशन गर्ने । 

रुम्जाटार घोषण – पत्र, २०७४ 

ओखलढुङ्गा, रुम्जाटारस्थित पद्मा हलमा आयोजित राष्ट्रिय परिषद् बैठक (फागुन १४, २०७३) ले निम्नलिखित समसामयिक प्रस्तावहरू पारित गरी दशबुँदे रुम्जाटार घोषणा – पत्र जारी गरेको छ :

* देशीय सामन्तवाद तथा पश्चिमा सांस्कृतिक साम्राज्यवाद र भारतीय दलाल एकाधिकार पूँजीवादविरोधी साहित्यिक, सांस्कृतिक आन्दोलनलाई साझा मोर्चाका रूपमा थप गतिशील बनाउँन तथा घोषि कार्ययोजना र लक्ष्य प्राप्तिका लागि सम्पूर्ण प्रगतिशील स्रष्टाहरूका साथ एकीकृत र प्रभावकारी पहल गर्न प्रलेस प्रतिबद्ध रहने, 

* राष्ट्रिय जीवनका राजनीति, इतिहास, कला साहित्य र संस्कृतिमा थोपरिएका विदेशी प्रभुत्ववादी छलछाम, षड्यन्त्र र हस्तक्षेपको अन्त्य तथा न्यायपूर्ण, समतामूलक समृद्ध समाज निर्माणका लागि विचार र कलाको संयोजनसहितको सिर्जनात्मक अभियानमार्फत् प्रतिवाद गर्ने, 

* मुलुकमा संधिवानसभाबाट जारी भएको नेपालको संविधानलाई राष्ट्रिय हित र अखण्डतामा प्रतिकूल नहुने गरी अस्थिरता र अन्यौललाई चिर्दै राष्ट्रिय राजनीतिक सहमति सहित प्रभावकारी कार्यान्वयनका लागि जोडदार माग गर्ने, 

* करिब दुई दशकदेखि हुन नसकेको स्थानीय तहको निर्वाचनको मिति आगामी वैशाख ३१ मा तोकिनुलाई स्थानीय सशक्तिकरण र लोकतान्त्रिक प्रक्रियाको संस्थागत विकासको सन्दर्भमा सकारात्मक ठान्दै उक्त निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित रूपमा सम्पन्न गराउन नेपाल सरकार र राजनीतिक दललाई आग्रह गर्ने, 

* समकालीन बर्जुवा तथा उपभोक्तावादी साहित्यिक चिन्तनधारा तथा उत्तर आधुनिकतावादको नाममा अराजकताको वकालत गर्ने प्रवृत्ति विरुद्ध वैचारिक एवं सिर्जनात्मक अभियान जारी राख्ने, 

* राष्ट्रिय चाडपर्व, रीतिरिवाज एवं संस्कृतिलाई समयसापेक्ष प्रगतिशील रूपान्तरणका लागि वैचारिक र प्रशिक्षणमूलक अभियान तथा अध्ययन, वहसजस्ता कार्यक्रम सञ्चालन गर्ने, 

* साहित्यिक र सांस्कृतिक क्षेत्रमा दिइने पुरस्कार तथा सम्मान परम्परा र अभ्यासका नाममा हावी हुन खोजेको विकृति, नातावाद, कृपावाद र सामन्ती अलोकतान्त्रिक कार्यशैलीको अन्त्य गरी वस्तुवादी मूल्याङ्कनका माध्यमबाट जनपक्षीय पुरस्कार तथा सम्मान परम्परा थालनीको लागि पहल गर्ने, 

* सूचना र प्रविधिको बढ्दो प्रयोगसन्दर्भमा यसको उपयोगबाट सिर्जना र व्यावहारिक कर्मलाई व्यवस्थित र वैज्ञानिक बनाउनका लागि सूचना आदान–प्रदान र सिर्जनात्मक उपलब्धिका लागि प्रयत्नशील रहने, 

* ओखलढुङ्गा जिल्लाको समग्र विकास र रुम्जाटारको बहुआयामिक विकासका लागि भइरहेको सत्प्रयासको सराहाना गर्दे रुम्जाटार विमानस्थलको स्तरोन्नति, स्थानीय पर्यटन र शैक्षिक क्षेत्रको विकास तथा जनजीविकाको सवालमा राज्यका तर्फबाट ठोस पहलका लागि माग गर्ने 

* प्रलेस राष्ट्रिय परिषद् बैठक आयोजना सफल बनाउनका लागि केन्द्रीय सचिव होमशङकर बास्तोलाको संयोजकत्वमा गठित व्यवस्थापन समिति, स्थानीय स्तरमा सहभागीहरूलाई न्यानो स्वागत र आतिथ्य प्रदान गर्ने स्थानीय समाजसेवी सीताराम गुरुङ, स्थानीय जनसमुदाय, प्रलेस ओखलढुङ्गा जिल्ला समिति, तथा सनराइज आवासीय विद्यालय परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्ने । 

२.१.२ दोस्रो राष्ट्रिय परिषद् बैठकपछिका सचिवालय बैठकका निर्णयहरू 

२०७४ साउन २४ गतेको बैठकका निर्णयहरू 

* प्रलेस स्थापना दिवसको अवसर पारेर प्रदान गरिँदै आएको प्रलेस प्रतिभा पुरस्कारका लागि उपाध्यक्ष खेम थपलियाको संयोजकत्वमा सचिव प्रकाश सिलवाल र सचिवालय सदस्य आर.सी. न्यौपाने सदस्य रहनुभएको ‘प्रलेस प्रतिभा पुरस्कार छनोट समिति’ गठन गर्ने, 

* प्रलेस स्थापना दिवसको अवसरमा ‘प्रगतिशील दृष्टिमा पुरस्कार र सम्मान संस्कृति’ विषयक अवधारणा–पत्र प्रस्तुति तथा टिप्पणीसहितको वैचारिक कार्यक्रमको आयोजना गर्ने, 

* प्रलेस स्थापना दिवसको अवसरमा ‘प्रलेस २३ औँ अङ्कलाई ‘नारी स्रष्टा विशेष’ का रुपमा प्रकाशन गर्ने, यसको सम्पादन जिम्मेवारी महिला विभाग संयोजक डा. विन्दु शर्मालाई दिने, 

* विधागत नेपाली साहित्य तथा अन्य मातृभाषाको प्रगतिशील साहित्यको इतिहास लेखन परियोजना लेखनको जिम्मेवारी पाउनुभएका स्रष्टा, अनुसन्धानाहरूसँग सम्पर्क, समन्वय गरी सामग्री सङ्कलनका लागि कोषाध्यक्ष विजयराज आचार्यलाई जिम्मेवारी दिने, 

* आर्थिक वर्ष २०७३/७४ को लेखा परीक्षणका लागि लेखा परीक्षकमा उद्दीम देवकोटालाई नियुक्त गर्ने । 

२०७४ भदौ २९ गतेको बैठकका निर्णयहरू 

* अघिल्लो बैठकको निर्णयअनुसार गठित ‘प्रलेस प्रतिभा पुरस्कार छनोट समिति’को २०७४ भदौ २५ गते बसेको बैठकले कवि केशव सिलवाललाई पुरस्कृत गर्नका लागि गरेको सिफारिसलाई अनुमोदन गर्ने, 
ड्ड प्रलेस स्थापना दिवसको अवसर पारेर २०७४ असोज ५ गते आयोजना गरिने कार्यक्रममा अवधारणा–पत्र प्रस्तुतिका लागि डा. अमर गिरी, टिप्पणीका लागि आहुती, श्रवण मुकारुङ, गोविन्दप्रसाद आचार्य तथा प्रमुख आतिथ्यका लागि मोहन वैद्य चैतन्यलाई अनुरोध गर्ने, कार्यक्रमलाई व्यवस्थित बनाउनको लागि अन्य आवश्यक तयारी गर्ने । 

२०७४ असोज २४ गतेको बैठकका निर्णयहरू 

* यस वर्षको तिहारमा कार्तिक ३ गते शुक्रबार सामूहिक देउसी भैलो कार्यक्रमको आयोजना गर्ने, यसको व्यवस्थापनको जिम्मेवारी केन्द्रीय कोषाध्यक्ष विजयराज आचार्यलाई दिने, 

* प्रलेसको वर्तमान भूमिका, यसको आगामी कार्य दिशा, पछिल्लो समय देखापरेको साङ्गठानिक समस्या तथा चुनौतीबारे छलफलसहित आवश्यक राय, सल्लाह सुझाव सङ्कलनका लागि सल्लाहाकार परिषद् बैठक डाक्ने ।

२०७४ चैत्र २ गतेको सचिवालय बैठकका निर्णयहरू 

* केन्द्रीय कोषाध्याक्ष विजयराज आचार्यले कार्यव्यस्तताको कारण देखाइ मिति २०७४ मङ्सिर १९ गते केन्द्रीय समितिसमक्ष दिनुभएको राजिनामा सम्बन्धमा यसअघि उहाँसँग गरिएको भेटघाट, छलफल तथा घटकीय संवादअनुसार राजिनामा स्वीकृत गर्ने र सम्मेलन नहुँदासम्मका लागि सचिवालय सदस्य एवं संस्कृति विभाग संयोजक कृष्णहरि भट्टलाई कार्यवाहक कोषाध्यक्षको जिम्मेवारी दिने, 

* ६६ औँ प्रलेस स्थापना दिवसको अवसर पारेर ‘संस्कृति विशेष’ तथा अक्टुबर क्रान्ति शतवार्षिकी सन्दर्भमा अक्टुबर क्रान्ति, मार्क्सको , कम्युनिस्ट घोषणापत्रको द्विसताव्दीका अवसरमा उक्त विषयसँग सम्बन्धी रचना– सामग्री सङ्कलन, सम्पादनसहित केन्द्रीय मुखपत्र ‘प्रलेस’ २४ र २५ औँ अङ्क प्रकाशन सन्दर्भमा क्रमश : संस्कृति विभाग संयोजक एवं कोषाध्यक्ष कृष्णहरि भट्ट तथा अन्तर्राष्ट्रिय विभाग संयोजक एवं सचिवालय सदस्य सङ्गीत श्रोतालाई जिम्मेवारी दिने,

* अक्टुबर क्रान्ति शतवार्षिकी कार्यक्रमसम्बन्धमा कार्यपत्र लेखनको जिम्मेवारी पाउनुभएका लेखकहरू बेदुराम भुषाल, मुरारी अर्याल, मोहन वैद्य चैतन्य, मोहनविक्रम सिंहलगायतसँग समन्वय गरी वैशाख ८ गते काठमाडौँमा कार्यक्रम आयोजना गर्ने, 

* नेपाल भाषा–साहित्यसम्बन्धी कार्यपत्र प्रस्तुतिसहितको कार्यक्रमका लागि प्रलेस भक्तपुर र ललितपुर शाखासँग समन्वय गरी जेठ महिनाभित्र कार्यक्रम आयोजना गर्ने । 

* २०७४ चैत्र २७ गते इलाम शाखा र केन्द्रको संयुक्त आयोजनामा झापा आन्दोलनका योद्धा तथा कुशल वाम सङ्गठक रत्नकुमार बान्तवा स्मृति दिवसको अवसर पारेर रत्नकुमार बान्तवा स्मृति भवनमा आयोजना गरिएको तेस्रो राष्ट्रिय परिषद् बैठकको व्यवस्थापनका लागि इलाम शाखासँग समन्वय गर्ने तथा यातायात व्यवस्थापनका लागि कार्यवाहक कोषाध्यक्ष कृष्णहरि भट्टको संयोजकत्वमा सचिवालय सदस्य आर.सी. न्यौपाने र कार्यालय सचिव तथा राष्ट्रिय परिषद् सदस्य पुण्य घिमिरे सदस्य रहनुभएको यातायात व्यवस्थापन समिति गठन गर्ने । 

२.१.३ सल्लाहाकार पषिद्को बैठक र प्राप्त सल्लाह/सुझाव 

२०७४ माघ १३ गते केन्द्रीय कार्यालय बागबाजारमा केन्द्रीय सल्लाहाकार परिषद्को बैठक आयोजना गरिएको थियो । अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकले प्रलेस केन्द्रले अहिलेसम्म गर्दै आइरहेको साङ्गठानिक गतिविधि तथा सिर्जनात्मक र वैचारिक क्रियाकलापप्रति सन्तोष व्यक्त गर्नुका साथै पछिल्लो समय विकसित राष्ट्रिय राजनीतिक परिदृश्य तथा अन्तर्राष्ट्रिय घटना–परिघटनाअनुरूप प्रलेसको साङ्गठानिक स्वरूप र चरित्र, यसका आगामी कार्यदिशा तथा वर्तमान भूमिकाबारे सार्थक बहस, संवाद जारी राख्नुपर्ने, यसमा आवद्ध स्रष्टाहरूले साझा मोर्चा हुनुको सीमा र मर्यादालाई पनि ख्याल गर्दै संस्थाको गरिमा जोगाउनुपर्ने, नेतृत्वले सोहीअनुसार कार्यनिर्देश गर्नुपर्ने सल्लाह, सुझाव प्राप्त । उक्त बैठकमा निनु चापागाईँ, प्रदीप ज्ञवाली, नारायण ढकाल, लोकनारायण सुवेदी, डा. विजय सुब्बा, हेमनाथ पौडेल, आहुती, ईश्वरचन्द्र ज्ञवाली, सरला रेग्मी, मित्रलाल पंज्ञानी लगायतका सल्लाहाकारहरूको उपस्थिति रहेको थियो । 

३. वैचारिक सिर्जनात्मक कार्यहरू (बैठकको निर्णयहरू कार्यान्वयनको अवस्था)

३.१ नेपाली लघुकथामा सामाजवादी यथार्थवाद र बालसाहित्यमा प्रगतिशीलता विषयक कार्यपत्र प्रस्तुति, टिप्पणी तथा रचना वाचन कार्यक्रम 

२०७३ फागुन १४ गते नेपाल प्रज्ञा–प्रतिष्ठान र प्रलेस केन्द्रको सहकार्यमा र ओखल ढुङ्गा, रुम्जाटारस्थित सनराइज स्कुल सभाकक्षमा ‘नेपाली लघुकथामा समाजवादी यथार्थवाद’ र ‘बालसाहित्यमा प्रगतिशीलता’ विषयमा क्रमश प्रलेस उपाध्यक्ष डा. पुष्करराज भट्ट र कोषाध्यक्ष विजयराज आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि क्रमशः प्रलेस महासचिव आर.एम्. डङ्गोल र महिला उपाध्यक्ष डा. विन्दु शर्माले टिप्पणी गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व प्रलेस केन्द्रीय अध्यक्ष एवं प्राज्ञ मातृका पोखरेलले गर्नुभएको थियो भने विशेष अतिथिका रूपमा प्रलेस पूर्व केन्द्रीय कोषाध्यक्ष एवम् प्राज्ञ नर्मदेश्वरी सत्याल उपस्थित हुनुहुन्थ्यो । उक्त कार्यक्रममा ओखलढुङ्गाका सांसद यज्ञराज सुनुवार र स्थानीय समाजसेवी सीताराम गुरुङको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन प्रलेस वा साहित्य विभाग संयोजक एवम् केन्द्रीय सचिव होमशङ्कर बास्तोलाले गर्नुभएको थियो । कार्यक्रममा प्रलेस केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य केन्द्रीय सदस्य र राष्ट्रिय परिषद् सदस्य एवम् स्थानीय स्रष्टाहरूले आ–आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो । 

३.२ ‘समकालीन कवितामा प्रगतिशीलता’ विषयक कार्यपत्र प्रस्तुति तथा टिप्पणी कार्यक्रम 

२०७३ चैत २६ गते प्रलेस केन्द्र र कास्की शाखाको संयुक्त आयोजनामा समकालीन कवितामा प्रगतिशीलता विषयक कार्यपत्र प्रस्तुति तथा टिप्पणी मूलक कार्यक्रम सम्पन्न गरियो । प्रा.डा. जगदीशचन्द्र भण्डारीले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि प्रा.डा. यदुनन्दन उपाध्याय र प्रलेस केन्द्रीय सचिवालय सदस्य सङ्गीत श्रोताले टिप्पणी गर्नुभएको थियो । प्रलेस कास्की शाखा अध्यक्ष भीम रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कास्की शाखा सचिव परशुराम कोइरालाले गर्नुभएको थियो । कार्यक्रमको आतिथ्य केन्द्रीय उपाध्यक्ष डा. कृष्णराज अधिकारीले गर्नुभएको थियो । 

३.३ ‘नेपाली शास्त्रीय छन्द कवितामा प्रगतिशीलता’ विषयक कार्यपत्र प्रस्तुति तथा टिप्पणी कार्यक्रम 

२०७४ वैशाख ९ गते प्रलेस केन्द्र र चितवन शाखाको संयुक्त आयोजनामा साहित्यकार पारिजातको २४ औँ स्मृति दिवसको अवसर पारी ‘नेपाली शास्त्रीय छन्द कवितामा प्रगतिशीलता’ विषयक कार्यपत्र प्रस्तुति तथा टिप्पणी कार्यक्रम आयोजना गरियो । कवि तथा समालोचक डा. रामप्रसाद ज्ञवालीले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि प्रा. जगत उपाध्याय प्रेक्षितले टिप्पणी गर्नुभएको थियो । कार्यपत्रमाथि डी. आर. पोखरेल, रविकिरण ‘निर्जीव’, एल्.बी. क्षेत्रीलगायतले जिज्ञासा एवं आफ्ना विचार राख्नुभएको थियो । कार्यक्रममा साहित्यकार पारिजातको जीवनी र कर्मबारे प्रलेस केन्द्रीय सचिव सरिता तिवारीले बोल्नुभएको थियो ।  प्रलेस चितवन शाखाका अध्यक्ष सुमनराज श्रेष्ठको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य मोदनाथ मरहठ्ठाले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन चितवन शाखाका सचिव विपिन पाठकले गर्नुभएको थियो ।  

३.४ भारतीय नेपाली साहित्यकारहरूसङ्गको भेटघाट तथा सम्मान कार्यक्रम 

२०७४ जेठ ८ गते साँझ बागबजारस्थित हार्दिक होटलमा भारतीय नेपाली साहित्यकारहरूसँगको भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानको हीरक जयन्तीको अवसर पारेर काठमाडौंँमा आयोजित त्रिदिवसीय वाङ्मय सम्मेलनमा भाग लिन आउनुभएका भारतीय नेपाली साहित्यकारहरू केदार गुरुङ, ज्ञानेन्द्र खतिवडा, रूपेश शर्मा, ज्ञानबहादुर, क्षेत्री, टीका भाइ, शुभद्रा बमजन, ज्ञानेन्द्र याक्सो, कृष्णराज घतानी, विकास शर्मा, गोपाल भित्रीकोटीलाई सम्मानुसहित रात्रिभोजको आयोजना गरिएको थियो । प्रलेस केन्द्रीय समिति र युद्धप्रसाद स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे, सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, प्रलेसका पूर्व अध्यक्ष निनु चापागाईँको पनि उपस्थिति रहेको थियो । युद्धप्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष अनिल पौडेलको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा प्रलेस केन्द्रीय अध्यक्ष मातृका पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव आर.एम्. डङ्गालेले गर्नुभएको थियो । 

३.५ श्यामप्रसाद शर्मा श्रद्धाञ्जली कार्यक्रम 

गत वैशाख २४ गते ८७ वर्षको उमेरमा निधन हुनुभएका यस संस्थाका संस्थापक अध्यक्ष एवम् सल्लाहाकार श्यामप्रसाद शर्माको स्मृतिमा २०७४ जेठ २० गते पदमकन्या क्याम्पस, डेनिसहलमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा श्यामप्रसादको जीवनी र कर्म तथा उनीसँगको सहकार्यका बारेमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, निनु चापागाईँ, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्र देव गिरी, शान्तदास मानन्धर, हरिहर खनाल, राम विनय, बासुदेव अधिकारी, मित्रलाल पंज्ञानी लगायत श्यामप्रसाद शर्माको छोरी सम्झना शर्माले पनि बोल्नुभएको थियो । श्यामप्रसाद शर्माको जीवनी, व्यक्तित्व र कृतित्व विषयमा प्रलेस केन्द्रीय महिला उपाध्यक्ष डा. विन्दु शर्माले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सभापतित्व अध्यक्ष मातृका पोखरेलले गर्नुभएको थियो भने सञ्चालन महासचिव आर.एम्. डङ्गोलले गर्नुभएको थियो । 

३.६ प्रलेस नेपालको ६५ औँ स्थापना दिवस 
२०७४ असोज ५ गते प्रगतिशील लेखक सङ्घ नेपालको ६५ औँ स्थापना दिवसको अवसर पारेर प्रलेस प्रतिभा पुरस्कार अर्पण तथा ‘प्रगतिशील दृष्टिमा पुरस्कार र सम्मान संस्कृति’ विषयक विचारगोष्ठीको आयोजना गरियो । माक्र्सवादी सौन्दर्यचिन्तक, समालोचक मोहन वैद्य चैतन्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कवि केशव सिलवाललाई रु. १०, ००० ।– (दस हजार) नगद पुरस्कारसहित प्रलेस प्रतिभा पुरस्कार २०७३ अर्पण गरियो । उक्त कार्यक्रममा पुरस्कृत व्यक्रित्वका बारेमा केन्द्रीय महिला उपाध्यक्ष डा. विन्दु शर्माले बोल्नुभएको थियो । कार्यक्रमको दोस्रो चरणमा प्रलेसका निवर्तमान अध्यक्ष एवं प्राज्ञ डा. अमर गिरीले अवधारण–पत्र प्रस्तुत गर्नुभएको थियो । अवधारणापत्र माथि आहुति, नेपाली लेखक सङ्घका अध्यक्ष एवं प्राज्ञ श्रवण मुकारुड र गोविन्दप्रसाद आचार्यले टिप्पणी गर्नुभएको थियो । 

कार्यक्रममा प्रलेस पूर्व अध्यक्ष एवं प्रलेस प्रतिभा कोषका संस्थापक आनन्ददेव भट्टसहित सल्लाहाकारहरू, केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र राष्ट्रिय परिषद् सदस्य लगायतका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो । संघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा सचिवालय सदस्य कृष्णहरि भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव आर.एम्.डङ्गोलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

३.७ प्रगतिशील देउसी/भैलो कार्यक्रम 
२०७४ कार्तिक ३ गते अनामनगरस्थित सामाजिक सेवा समाजको हलमा सामुहिक देउसी–भैलो कार्यक्रमको आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमको अध्यक्षता केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा सल्लाहाकार हेमनाथ पौडेल र ईश्वरचन्द्र ज्ञवालीले शुभकामना मन्तव्य राख्नुभएको थियो । सोही कार्यक्रममा प्रलेस केन्द्रीय मुखपत्र प्रलेस २३, ‘नारी स्रष्टा विशेष’ सार्वजनिक गरिएको थियो । उक्त साँस्कृतिक कार्यक्रमको संयोजन प्रलेस केन्द्रीय सदस्य रमेश शुभेच्छुले गर्नुभएको थियो । 

३.८ प्रलेस परिसंवाद कार्यक्रम 
प्रलेस केन्द्रीय कार्यालय, बागबजारमा हरेक महिनाको पहिलो शुक्रबार आयोजना गरिँदै आएको प्रलेस परिसंवादको १३ वटा श्रृङ्खला सम्पन्न भइसकेका छन् । दोस्रो राष्ट्रिय परिषद अघि तीनवटा श्रृङ्खला सम्पन्न भएकोमा त्यसयता दसवटा श्रृङ्खला सम्पन्न भएका छन् । 

* २०७४ चैत्र ४ गतेको चौँथो श्रृङ्खलामा ‘जन आन्दोलनमा स्रष्टाहरूको भूमिका सन्दर्भमा चैत्र–३ र चैत्र–३० को महत्व’ विषयमा अतिथि वक्ता हरिगोविन्द लुइँटेल हुनुहुन्थ्यो । उक्त कार्यक्रममा ‘स्रष्टा चैत्र–३०’ का संयोजक मनोज न्यौपानेलाई पनि वक्ताको रूपमा निम्त्याइएको थियो । 

* २०७४ जेठ ५ गतेको पाँचौँ शृङ्खलामा ‘प्रगतिशील उपन्यास लेखनमा चुनौति’ विषयमा अतिथि वक्ताको रूपमा नारायण ढाकाललाई निम्त्याइएको थियो । कार्यक्रममा गोपिरमण उपाध्याय, राम विनय, रणेन्द्र बराली, रेशम विरही, गुरुङ सुशान्त, पुण्य गौतम ‘विश्वास’, प्रकाश सिलवाल, दीपक सापकोटालगायतका सहभागीहरूले आ–आफ्ना विचार र जिज्ञासा राख्नुभएको थियो । 

* २०७४ असार २ गतेको छैठौँ श्रृङ्खलामा ‘नेपाली कथा लेखनमा चुनौति’  विषयमा अतिथि वक्ताका रूपमा डा. ऋषिराज बराललाई निम्त्याइएको थियो । कार्यक्रममा पुरुषोत्तम रिजाल लगायतले आफ्नो विचार र जिज्ञासा राख्नुभएको थियो । 

* २०७४ साउन ६ गतेको सातौँ श्रृङ्खलामा अतिथि वक्ताका रूपमा राजनीतिकर्मी लोकनारायण सुवेदीलाई निम्त्याइएको थियो । उहाँले ‘पुष्पलालको साहित्य चिन्तन’ विषयमा आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रममा हरिगोविन्द लुइँटेल, रणेन्द्र बराली, केशव खड्का, रचना शर्मा लगायतले आ– आफ्ना विचार र जिज्ञासा राख्नुभएको थियो । 

* २०७४ भदौ २ गतेको आठौँ श्रृङ्खलामा ‘प्राचीन नेपालमा गणतान्त्रिक चिन्तन’ विषयमाथि माक्र्सवादी चिन्तक एवं समीक्षक मुरारी अर्यालले आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रममा बलराम तिमिल्सिना समीर सिंह, रणेन्द्र बरालीले आ–आफ्ना विचार राख्नुभएको थियो । 

* २०७४ मङ्सिर १ गतेको नवौँ श्रृङ्खलामा ‘नेपाली लोकसाहित्यमा प्रगतिशीलता’ विषयमा लोकसाहित्यका अध्येता मनोहर लामछानेले आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्राज्ञ नर्मदेश्वरी सत्याल, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, बलराम तिमिल्सिना, कृष्णहरि भट्ट, बैरागी जेठा लगायतका सहभागीहरूबाट आ–आफ्ना जिज्ञासा एवं विचार प्रस्तुत गरिएको थियो । 

* २०७४ पुस ७ गतेको दशौँ श्रृङ्खलामा माक्र्सवादी दर्शनका अध्येता गोपिरमण उपाध्यायले ‘पूर्वीय दर्शनमा भौतिकवाद’ विषयमा केन्द्रित रही आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा माक्र्सवादी दर्शनका अध्येता बेदुराम भुसाल, विष्णु प्रभात, राम विनय, बलराम तिमल्सिना, सीता शर्मा, रोहित दाहाल, डा. भागवत आचार्य, आर.सी. न्यौपाने, पुण्य घिमिरे लगायतका सहभागीहरूबाट जिज्ञासा एवम् विचार प्रस्तुत गरिएको थियो । 

* २०७४ माघ ५ गतेको ११ औँ श्रृङ्खलामा ‘युद्धप्रसाद मिश्रको साहित्यिक योगदान’ विषयमा कवि बासुदेव अधिकारी अतिथि वक्ताका रूपमा निम्त्याइनुभएको थियो । उक्त कार्यक्रममा गोपिरमण उपाध्याय, युद्धप्रसाद मिश्रकी छोरी कमल मिश्र, आर.सी. न्यौपाने, प्रकाश थापा मगर लगायतले आफ्ना विचार र जिज्ञासा राख्नुभएको थियो । 

* २०७४ फागुन ४ गतेको १२ औँ श्रृङ्खलामा ‘प्रगतिवादी नेपाली साहित्यका सन्दर्भमा घनश्याम ढकालको योगदान’ विषयक परिसंवादमा डा. अमर गिरी अतिथि वक्ताका रूपमा उपस्थित हुनुहुन्थ्यो । उक्त कार्यक्रममा खेम थपलिया, रोहित दाहाल, आर.सी. न्यौपाने, जगत वाशिष्टले आफ्ना जिज्ञासा एवम् विचार राख्नुभएको थियो । 

* २०७४ चैत २ गतेको १३ औँ श्रृङ्खलामा ‘नेपाली गजलमा प्रगतिवाद’ विषयमाथि अतिथि वक्ताका रूपमा निम्त्याइनुभएका डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ ले आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रममा डा. विन्दु शर्मा, डा. भागवत आचार्य, नारायण निरासी, भुवन बोहोरा ‘निस्तेज’, विष्णु थिङलगायतले आ– आफ्ना विचार र जिज्ञासा राख्नुभएको थियो । 

प्रलेस परिसंवाद कार्यक्रमको संयोजन सङ्घका उपाध्यक्ष डा. पुष्करराज भट्टले गर्दै आउनुभएको छ । प्रलेस पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय र राष्ट्रिय परिषद सदस्यहरूको उपस्थितिमा यो कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ । 

३.९ केन्द्रीय प्रकाशन /प्रेस नोट्स (प्रेस वक्तव्य)

* प्रलेस, नेपालको केन्द्रीय मुखपत्रको रूपमा प्रलेसको २३ औँ अङ्क ‘नारी श्रष्टा विशेष’ का रूपमा प्रकाशित भएको छ । केन्द्रीय महिला विभागकी संयोजक डा. विन्दु शर्माले यस अङ्कको सम्पादन गर्नुभएको छ । 

* प्रलेसका संस्थापक अध्यक्ष एवं सल्लाहाकार श्यामप्रसाद शर्मा (जन्म वि.सं. १९८६ असार ६) को २०७४ वैशाख २४ गते भएको निधनप्रति वैशाख २४ गते, प्रलेसका पूर्व केन्द्रीय सदस्यसमेत रहिसक्नुभएका नेपाल भाषाका प्रगतिवादी कवि बुद्ध साय्मिको २०७३ पुस १० गते भएको निधनप्रति पुस १२  गते र पूर्व केन्द्रीय सदस्य एवम् प्रगतिवादी कवि पीताम्बर भण्डारी (जन्म २००४ असार ११) को २०७४ फागुन १० गते भएको निधनमा  प्रलेस केन्द्रले शोक वक्तव्य प्रकाशित गरी श्रद्धाञ्जली व्यक्त गरेको छ । 

* प्रलेस केन्द्रीय सदस्य आरोह नेपालीलाई २०७४ जेठ २८ गते,  केन्द्रीय सल्लाहाकार माइला लामालाई २०७४ भदौ १ गते गरिएको पक्राउ तथा केन्द्रीय उपाध्यक्ष एवं विधागत विभाग संयोजक खेम थपलियालाई २०७४ मङ्सिर ३ गते संघको कार्यालयपरिसरबाटै गरिएको पक्राउको विरोध गर्दै उहाँहरूको रिहाइको माग गर्दै प्रेस विज्ञप्ति जारी गरिएको थियो । उपाध्यक्ष खेम थपलियाको रिहाइका लागि साङ्गठानिक स्तरमै पहलकदमीसमेत गरिएको थियो । 

* पुरस्कार र सम्मान संस्कृतिमा देखापरेको विकृतिविरुद्ध र खासगरी नई प्रकाशनको पदक र सम्मानबारे प्रलेसले आधिकारिक धारणा प्रस्तुत गर्दै यस्ता पुरस्कार र सम्मानप्र्रति अस्वीकृति जनाउँदै २०७३ पुस ५ गते प्रेस विज्ञप्ति जारी गरेको थियो । 

* पछिल्लो समय सिरियामाथि शक्ति राष्ट्रहरूबाट थोपारिएको नरसंहारकारी युद्ध र वाह्य हस्तक्षेपको विरोध गर्दै सिरियाली जनताको जीवन रक्षाको माग गर्दै २०७४ फागुन ११ गते प्रेस विज्ञप्ति जारी गरिएको थियो । 

* प्रलेस केन्द्रका सम्पूर्ण गतिविधि, प्रलेस जिल्ला शाखाहरूको गतिविधि तथा प्रलेसका बारेमा लेखिएका लेख, रचनाहरू तथा प्रलेस केन्द्रबाट प्रकाशित केन्द्रीय मुख पत्रहरूको सबै अङ्कसहितका सामग्रीहरूलाई डिजिटल प्रविधिमार्फत् सुरक्षित र व्यवस्थित गरिएको छ । यसका लागि क्रमश www.pralesa.blogspot.com  तथा  www.pralesapatrika.blogspot.com  मा हेर्न सकिने छ । त्यसैगरी प्रलेस केन्द्रसँग सम्पर्कका लागि pralesa@gmail.com ठेगाना प्रयोग गर्न सकिने छ । हालसम्म प्रलेसका सम्पूर्ण विद्युतीय सामाजिक सञ्जालको संयोजन एवं सम्पादन केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गर्दै आउनुभएको छ । 

४. प्रलेस प्रदेश/जिल्ला सम्मेलन गतिविधि 

४.१ प्रदेश नं. ४ सम्मेलन आयोजक समिति गठन 

दोस्रो राष्ट्रिय परिषद् अगावै ३ नम्बर प्रदेश र ७ नम्बर प्रदेश सम्मेलन आयोजक समिति गठन भइसकेको तथा प्रलेस सिन्धुपाल्चोक, सुर्खेत, रूपन्देही, बैतडी, भक्तपुर, इलाम, रुकुम, पाँचथर, ताप्लेजुङ लगायतका जिल्लामा शाखा विस्तार भइसकेको छ । 

* २०७३  चैत्र २६ गते कास्की पोखरामा प्रलेस केन्द्र र कास्की शाखाको संयुक्त आयोजनामा समकालीन कवितामा प्रगतिशीलता विषय विचारगोष्ठीमा उपस्थित भेलाले प्रदेश उपाध्यक्ष डा. कृष्णराज अधिकारीको संयोजकत्वमा २१ सदस्यीय प्रदेश नं. ४ सम्मेलन आयोजनक समिति गठन गरेको छ । उक्त कार्यक्रममा केन्द्रीय सल्लाहाकार प्रा.डा जगदीशचन्द्र भण्डारी, सचिवालय सदस्य सङ्गीत श्रोताको पनि उपस्थिति रहेको थियो । 

४.२ जिल्ला सम्मेलन गतिविधि 

४.२.१. प्रलेस, ओखलढुङ्गा प्रथम जिल्ला सम्मेलन 
* २०७४ वैशाख २५ गते ओखलढुङ्गा, रुम्जाटारमा प्रलेस ओखलढुङ्गाको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले युवराज दाहालको अध्यक्षतामा १३ सदसस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । उक्त कार्यक्रममा प्रलेस केन्द्रीय अध्यक्ष मातृका पोखरेल, उपाध्यक्ष, महासचिवलगायत केन्द्रीय समिति र राष्ट्रिय परिषद् सदस्यहरूको उपस्थिति रहेको थियो । 

४.२.२ प्रलेस, सोलुखुम्बु प्रथम जिल्ला सम्मेलन आयोजक समिति 
* २०७४ वैशाख १३ गते सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीमा प्रलेस केन्द्रीय अध्यक्ष मातृका पोखरेल, उपाध्यक्ष डा. विन्दु शर्मा, डा. पुष्करराज भट्ट, महासचिव आर.एम्.डङ्गोल, कोषाध्यक्ष विजयराज आचार्य तथा सचिवालय सदस्य आर.सी. न्यौपानेको उपस्थितिमा लोचन शर्मा कट्टेलको संयोजकत्वमा १५ सदस्यीय सोलुखुम्बु जिल्ला तदर्थ समिति गठन गरिएको छ । 
४.२.३ प्रलेस धादिङ प्रथम जिल्ला सम्मेलन आयोजक समिति 
* २०७४ फागुन २४ गते धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा प्रलेस ३ नम्बर प्रदेश केन्द्रीय उपाध्यक्ष खेम थपलियाको प्रमुख आतिथ्यमा आयोजित भेलाले रमेश अधिकारीको संयोजकत्वमा १७ सदस्यीय प्रलेस धादिङ जिल्ला तदर्थ समिति गठन गरेको छ । 

४.२.४ प्रलेस, सर्लाही प्रथम जिल्ला सम्मेलन आयोजक समिति 

* २०७४ चैत ९ गते प्रलेस केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्यमा आयोजित भेलाले निर्मल बराल (रामहरि) को संयोजकत्वमा ११ सदस्यीय प्रलेस सर्लाही जिल्ला तदर्थ समिति गठन गरेको छ । 

४.३ जिल्ला गतिविधि 

४.३.१ प्रलेस रूपन्देही 

२०७३ चैत्र २६ गते जनआन्दोलन दिवसको अवसर पारेर प्रलेस रूपन्देही शाखाले बुटवलमा ‘आन्दोलन साहित्यको सिंहवलोकन’ विषयक विचारगोष्ठी एवं सिर्जनावाचन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रगतिवादी स्रष्टा दिल साहनी, घनश्याम न्यौपाने ‘परिश्रमी’, ऋषिराम भुसाल, रामचन्द्र भट्टराई, अजम्बरध्वज खाती, बालकृष्ण भट्टराई, विनबहादुर कुँवर, बाबुराम आचार्य, पद्म कार्की लगायतका वक्ताहरूले आ– आफ्ना विचार राख्नुभएको थियो । प्रलेस, रूपन्देही अध्यक्ष देवेन्द्र घिमिरेको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा स्वागत मन्तव्य शाखा उपाध्यक्ष खोमा तरामु मगरले राख्नुभएको थियो । कार्यक्रममा खोमा तरामु मगर, विकास के.सी, कविराज पौडेल, हृदय लेकाली लगायतका स्रष्टाहरूले आ– आफ्ना रचना वाचन गर्नुभएको थियो । 

४.३.२ प्रलेस चितवन 

प्रलेस चितवन शाखाको आयोजनामा २०७४ साउन २१ गते भरतपुर, क्षेत्रपुरस्थित रामेश्वर पुस्तकालयको सभाकक्षमा कवि आर.एम.् डङ्गोलको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कवि व्यक्तित्वको चिनारी समीक्षक रमेश प्रभातले प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्य केन्द्रीय सचिव सरिता तिवारीले राख्नुभएको थियो । कवि डङ्गोलले सो कार्यक्रममा दुई दर्जन जति कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व चितवन शाखा अध्यक्ष सुमनराज श्रेष्ठले गर्नुभएको थियो । केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शाखा सदस्य सुमन अर्यालले गर्नुभएको थियो । 

५. शोक समवेदना/श्रद्धाञ्जली

प्रलेसका संस्थाापक अध्यक्ष एवं सल्लाहाकार श्यामप्रसाद शर्माको २०७४ वैशाख २४ गते ८७ वर्षको उमेरमा भएको निधन, प्रलेसका पूर्व केन्द्रीय सदस्य एवं प्रगतिवादी कवि पीताम्बर भण्डारीको २०७४ फागुन १० गते भएको निधनमा प्रलेस नेपालको यस दोस्रो राष्ट्रिय परिषद् बैठक दिवङ्गत व्यक्तित्वहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त पविारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 

६. केन्द्रीय कार्ययोजना प्रस्ताव समितिबाट २०७५ सालको लागि प्रस्तावित केही कार्यक्रमिक योजना 

* प्रलेस दोस्रो राष्ट्रिय परिषद् बैठकमा प्रस्तुत र अनुमोदित कार्ययोजनाहरूमध्ये सम्पन्न हुन नसकेका कार्यक्रमको आयोजना गर्ने, 
* आउँदो २०७५ माघ फागुनभित्र प्रदेश सम्मेलन, जिल्ला सम्मेलनको आयोजना गरिसक्ने, प्रदेश सम्मेलनमा हरेक प्रदेशले एकएकवटा वैचारिक तथा प्रशिक्षणमूलक कार्यक्रमको आयोजना गर्ने, 
* इतिहास लेखन परियोजना अन्तर्गत हालसम्म प्राप्त ५ वटा सामग्रीको मूल्याङ्कन गराई प्रगतिशील साहित्यको इतिहासको पहिलो भाग प्रकाशनको व्यवस्था गर्ने, 
* हालसम्म विभिन्न समयमा विभिन्न ठाउँमा आयोजित गोष्ठीका गोष्ठीपत्रहरूको सङ्कलन गरी मुखपत्रको रूपमा प्रकाशन गर्ने, 
* आउँदो प्रलेस स्थापना दिवसको अवसर पारेर केन्द्रीय समति बैठक आयोजना गर्ने, 
* श्यामप्रसाद शर्माको जन्म दिनको अवसर पारेर देशव्यापी रूपमा श्यामप्रसाद शर्मा स्मृति दिवस मनाउने ।  

८. चुनौति र सम्भावना 

प्रलेसको परिमार्जित विधानअनुसार केन्द्रले प्रदेश र जिल्ला शाखाहरूसँग समन्वय गरी प्रदेश समितिको साङ्गठानिक आधार निर्माणको महत्वपूर्ण कार्यभार हाम्रो सामु उपस्थित छ । संविधान कार्यान्वयन गरी संघीयताको मूल मर्मअनुसार प्रदेशभित्रको भाषा, भूगोल, जनजीवन, इतिहास, संस्कृतिलाई महत्व दिने गरी सिर्जनात्मक, वैचारिक गतिविधिलाई आन्दोलनकै तहबाट अगाडि बढाउनुपर्ने अर्काे कार्यभार हाम्रो सामु रहेको छ । समकालीन बुर्जुवा साहित्यिक चिन्तधारा तथा उत्तर आधुनिकतावादी अराजक साहित्यिक चिन्तनका विरुद्ध प्रतिरोधी वैचारिक÷सिर्जनात्मक अभियानको थालनी गर्नुपर्ने तथा मुलुकका हरेक क्षेत्रमा प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा बढ्दै गइरहेको बाह्य हस्तक्षेप र प्रभावलाई चिर्नका लागि वैचारिक क्रियाकलापलाई पनि उत्तिकै महत्व दिइनु आवश्यक छ । अर्काेतिर वैचारिक सुस्पष्टता सहितको साझा मोर्चा हुनुको गरिमा र सीमालाई मनन गर्दै यसलाई प्रतिध्रुवीय लेखन भन्दा अझ स्तरीय बनाउनु पनि उत्तिकै जरुरी छ । 

१०. निष्कर्ष 

समकालीन प्रगतिवादी धारा नेपाली साहित्यको  केन्द्रीय धारा बन्न पुगेको छ । प्रगतिशील लेखनको प्रतिनिधित्व गर्ने यस संस्थाको साँढे छ दशक लामो यात्रामा विचार सिर्जना र सङ्गठनका माध्यमबाट यसले निर्माण गरेको इतिहास गर्व गर्न योग्य छ । दसौँ राष्ट्रिय सम्मेलनपछि संस्थालाई गतिशील बनाउने क्रममा कार्यालय व्यवस्थापनसहित विभिन्न जिल्ला शाखामा सङ्गठन विस्तारका साथै प्रादेशिक संरचनामा जाँदा यसले अझ गति लिन सक्ने छ । दोस्रो राष्ट्रिय परिषद् बैठकमा जारी गरिएको रुम्जाटार घोषणापत्रको अन्तर्वस्तु र प्रलेस केन्द्रीय सल्लाहाकार पषिद् बैठकबाट प्राप्त सुझाव र मार्ग निर्देशलाई मनन गर्दै केन्द्रीय कार्य योजना प्रस्ताव अनुसार विभिन्न प्रदेशहरूमा केन्द्रीय स्तरका कार्यक्रम सम्पन्न गर्ने तथा विभिन्न विभागहरूले लिएको निर्णयलाई कार्यान्वयन गर्ने हो भने र साझा मोर्चा हुनुका कारण यसका अनेकौ जोखिमी, चुनौतिका बिचमा लेखनलाई वैचारिकीसहित सिर्जनात्मक सङ्गठित ढङ्गले अगाडि बढाउने हो भने मुलुकको सामाजिक सांस्कृतिक रूपान्तरणको आन्दोलमा यस संस्थाले महत्वपूर्ण योगदान दिनसक्ने छ । 


थप जानकारीका लागि 
( www.pralesa.blogspot.com तथा पत्राचार र सूचना आदानप्रदानका लागि  pralesa@gmail.com  मा सम्पर्क राख्न सक्नुहुने छ ।) 


२०७४ ,चैत्र २७


रत्नकुमार बान्तवा स्मृतिहल, इलाम । 

No comments:

Post a Comment