Sunday, April 15, 2018

मकवानपुरको हेटौडामा ‘नेपाली कथा र समय चेतना’ विषयक गोष्ठी सम्पन्न ।



हेटौडा, २७ पुस २०७४ / प्रगतिशील लेखक संघ, मकवानपुर र नेपाल प्रज्ञा- प्रतिष्ठानले आज ‘नेपाली कथा र समय चेतना’ विषयमा गोष्ठी सम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभागको प्रमुख मातृका पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार तथा पत्रकार अभय श्रेष्ठले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । 
हेटौडा । प्रगतिशील लेखक संघ मकवानपुर र नेपाल प्रज्ञा प्रतिष्ठानले आज ‘नेपाली कथा र समय चेतना’ विषयमा गोष्ठी सम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभागको प्रमुख मातृका पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार तथा पत्रकार अभय श्रेष्ठले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । 
विभिन्न समयमा साहित्यकारहरुले आफ्नो रचना र कृति मार्फत पु¥याएको योगदान र कृतिहरुको बारेमा अवधारणा पत्र मार्फत चर्चा गरिएको थियो । परिवर्तित कालखण्डमा नेपाली साहित्यकारहरुले मात्र नभएर विश्वका साहित्यकारहरुले आफ्नो युगको चेतना आफ्ना सिर्जना मार्फत बोलेको विषयमा कार्यक्रममा चर्चा गरिएको थियो । प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष पुरुषोत्तम आर्चायको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा कथाकारहरु अरुण खतिवडा, नवराज शर्मा, प्रलेस संस्थापक अध्यक्ष सम्राट तुम्बाहाङफे, साहित्यकारहरु देवराज तिवारी, दिपक गौतम, रमेश मोहन अधिकारी, सानुभाइ विश्वकर्मा, अप्सरा तिमल्सिना लगायतकाले साहित्यकार अभय श्रेष्ठले प्रस्तुत गर्नुभएको अवधारणा पत्र माथि टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा अतिथिहरु प्रलेस मकवानपुरका सल्लाहकारहरु कौशल पाण्डे, उमाकान्ता आचार्य, माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन(पृथक), साहित्यकार आर.सि. रिजाल, साहित्य संगमका उपाध्यक्ष अनिता न्यौपाने, आँचल साहित्य कला पुञ्जका अध्यक्ष अप्सरा तिमल्सिना लगायतका रहनुभएको थियो । साथै आज कवि युद्ध प्रसाद मिश्रको जन्मजयन्तीको अवसर पनि परेकोले उहाँप्रति श्रद्धासुमन व्यक्त गरिएको थियो ।

www.hetaudaonline.com बाट साभार

समृद्ध समाज राष्ट्रिय दैनिक, वर्ष - ८ , अङ्क - ५४ , २०७४ साल पुस २८ गते शुक्रवार 

































































==============================================

अवधारणापत्र
नेपाली कथा र समयचेत 
- अभय श्रेष्ठ

अमेरिकी आख्यानकार अर्नेस्ट हेमिङ्वेको एउटा विश्वप्रसिद्ध कथा छ– अ क्यानरी फर वन । 
(हेर्नुस्, त्यसको नेपाली रूपान्तर ‘अमेरिकी लोग्ने’ शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकको फुर्सद दसैँ विशेषांकमा प्रकाशित छ, २०७४, असोज ५ ।) सन् १९५४ को नोबेल साहित्य पुरस्कार विजेता यी कथाकार कथामा पेरिसतिर गइरहेको रेलयात्राको रमाइलो वर्णन गर्दै जान्छन् । कथामा एक अमेरिकी दम्पती र अर्की अमेरिकी प्रौढ महिला मुख्य पात्र छन् । अमेरिकी महिला बारम्बार ‘अमेरिकी लोग्नेमान्छे संसारकै सर्वश्रेष्ठ पति हो, अमेरिकी युवतीका लागि ऊबाहेक अरु उपयुक्त पति हुनै सक्दैन’ भनेर दाबी गर्छे । त्यसैले ऊ स्वीस युवकसँग प्रेममा परेकी छोरीलाई छुटाएर अमेरिका लिएर जान्छे जसका लागि उसले एउटा गाउने जुरेली (क्यानरी) किनेकी हुन्छे । कथाभरि उसको आग्रहप्रति अमेरिकी दम्पती लगभग मौन रहन्छन् । तर, कथाको अन्त्यले यो स्वीकृतिलाई पूरै खण्डन गर्छ । त्यो अमेरिकी दम्पती भिन्नाभिन्नै बसोवास गर्न पेरिस गइरहेको हुन्छ । कथामा विचारलाई कति गहिरो अन्तर्दृष्टि र कलासहित प्रस्तुत गर्न सकिन्छ भन्ने नमुना हो यो कथा ।

‘कथा एउटा सानो झ्याल हो जहाँबाट एउटा सानो संसार चियाइन्छ । थोरैमा मीठो र भरिलो हुनु छोटो किस्साको पानी हो’●, कथाको चर्चा गर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो कथन नेपालमा सर्वाधिक उद्धृत गरिन्छ । यसरी हेर्दा कथा सामान्य जीवनको विशिष्ट क्षण, मानवीय मूल्य र सत्यको उद्घाटन हो । चेखबको ‘छेपारो●●ले परिस्थितिअनुसार बोली फेर्ने जारकालीन रुसी प्रहरी अधिकारीमार्फत सनातन आदिम मानव प्रवृत्तिलाई छताछुल्ल पारिदिन्छ । मनु ब्राजाकीको ‘एकान्त’●●●ले विपत्तिमा पनि मान्छेले देखाउने क्रूरता र पाखण्डलाई नांगेझार बनाउँछ । ओ हेनरीको ‘ह्वीर्लिगिग अफ लाइफ’●●●●ले समान लक्ष्य भएका मानिसहरू जीवनको कुनै क्षण छुट्टिए पनि अन्ततः फेरि सहकार्य गन तयार हुन्छन् भन्ने सत्य उद्घाटन गर्छ । 

नेपाली क्लासिक्स
आधुनिक नेपाली कथाको चर्चा गर्दा गुरुप्रसाद मैनालीको कथासंग्रह ‘नासो’लाई प्रस्थानविन्दु मानिन्छ । हो पनि । यसमा समावेश ११ कथाले ब्राह्मण संस्कृति प्रभावशाली रहेको नेपाली सामाजिक जीवनको विशिष्ट चित्रण गर्छन् । तीमध्ये सहिद, अभागी, नासोलाई  नेपाली कथाकै उत्कृष्ट सूचीमा राख्न सकिन्छ । 

मैनालीपछिका गोविन्द गोठाले र विश्वेश्वरप्रसाद कोइरालाका कथा नेपाली कथाकै अनुपम उपलब्धि हुन् भन्न हिच्किचाउनु पर्दैन । चर्चा गरिएजस्तो यी दुई कथाकारले ‘फ्रायडको मनोविश्लेषणबाट प्रभावित भएर कथामा यौन मनोविज्ञानको विशिष्ट चित्रण गरे’ मात्र भनियो भने न्याय हुँदैन । गोठालेले पतनोन्मुख राणाकालीन र प्रजातन्त्रकालीन काठमाडौँवासी नेवारी समाजको जीवन र संस्कृतिको असाधारण चित्रण गरे । पहाडी मूलका मधेसवासी ब्राह्मण समाजको चित्रणमा कोइरालाको अवदान त्यही स्तरको थियो । दुवैको लेखन मूलतः प्रकृतवादी (नेचुरालिस्ट) हुनाले दुवैले मान्छेको आदिम प्रवृत्तिको चित्रणलाई कथाको मूल विषय बनाए । गोठालेका त्यो क्रान्तिको प्रतीक, मैले सरिताको हत्या गरेँ, निद्रा आएन, म जुजुमान, लक्ष्मीपूजा लगायत र कोइरालाका मधेसतिर, श्वेतभैरवी, कथा, शत्रु, राइटर बाजे लगायत कथालाई हामीले अन्तराष्ट्रिय मञ्चमा पु¥याउन सकेनौँ । खासमा, नेपाली साहित्यकै शिर उँचो पार्ने ताकत यिनमा छ ।

पुष्करशमशेरले जम्मा पाँच वटा कथा लेखे । परिबन्द, लोग्ने, स्वार्थत्याग, मनको पलट र धनको मुख रातो । तथापि उनको नाम नेपाली कथा साहित्यमा सम्मानपूर्वक लिइन्छ । तत्कालीन समयमा कुलीन राणा परिवारका लेखक (तत्कालीन प्रधानमन्त्री राणेद्दीप सिंहको हत्यामा मुख्य भूमिका निर्वाह गरेका डम्बरशमशेरका नाति) हुनाले उनको यति धेरै हाईहाई गरियो भन्ने आरोप पनि यदाकदा सुनिन्छ । तर, जीवनको विडम्बना पर्गेल्ने उनका कथा पढ्दा आज पनि उत्तिकै ओजस्वी लाग्छ । ‘खास गरी परिबन्द, लोग्ने र स्वार्थत्याग कथाका माध्यमबाट उनले नेपाली कथाका क्षेत्रमा आफ्नो छुट्टै परिचय दिन सफल भएका छन् । उनी विभिन्न परिस्थितिको चापमा अल्झेर अप्ठेरोमा पर्ने मानिसलाई आफ्नो कथाको पात्र बनाउँछन् । त्यसैले उनका कथामा सामाजिक नीति नियम र ऐन कानुनले मान्छेका अगाडि उपस्थित विवशता नै बढी मात्रामा पाइन्छन् । खास गरी कथामा आफूले प्रस्तुत गर्न खोजेको अभिप्रायलाई बलियो तर्कले पुष्टि दिनु उनको मूल विशेषता हो ।’●●●●●

विजय मल्ल, भवानी भिक्षु उस्तै प्रवृत्तिका अर्का दुई कथाकार हुन् । मल्लले मूलतः काठमाडौँवासी नेवार समुदायका पात्रको सामाजिक, सांस्कृतिक जीवनसहित मनोजगतका कथा लेखे । भिक्षुले त्यही कुरा तराईवासी, खासगरी अवधी समाजका जनजीवन र संवेदनालाई पक्रिए । मल्लको अन्तिम भोज, एक बाटो अनेक मोड, पाटन, कालो चस्मा, दस रुपियाँ, दिदीबहिनी, संयोग, प्रवेशनिषद्ध देश आदि महत्वपूर्ण कथा हुन् । भिक्षुको हारजित नेपाली कथाकै उपलब्धि हो भन्ने मलाई लाग्छ । त्यो फेरि फर्केला, गुनकेशरी, मैयासाहेब, त्यही सात दिन, माउजङ बाबुसाहेबको कोट, सावित्रीको बाख्रो, मीना, रानीसाहेब उनका अन्य महत्वपूर्ण कथा हुन् । प्रसिद्ध समालोचक ईश्वर बरालका अनुसार ‘भिक्षु प्रसिद्ध भए रतिभावसर्वस्व कथाले ।’●●●●●●

रमेश विकल, हृदयचन्द्रसिंह प्रधान र पारिजात उही प्रवृत्तिका अर्का महत्वपूर्ण कथाकार हुन् । विकल मूलतः सामाजिक यथार्थलाई आलोचनात्मक दृष्टिसहित कथामा प्रस्तुत गर्ने प्रगतिवादी कथाकार हुन् । लाहुरी भैँसी, मधुमालतीको कथा यस प्रवृत्तिका उनका अनमोल कथा हुन् । प्रधानका दाउरी, उज्यालीको आँसु, कुकुर प्रसिद्ध कथा हुन् । पारिजातका दुई प्रवृत्तिका कथामा दुवै थरीले नेपाली कथालाई समृद्ध पार्न महत्वपूर्ण भूमिका खेलेका छन् । मैले नजन्माएको छोरो उनको सर्वोत्कृष्ट कथा हो भने साल्गीको बलात्कृत आँसु, नैकापे सर्किनी, ज्यामी बुढा लगायत प्रगतिवादी प्रवृत्तिका महत्वपूर्ण कथा हुन् ।

इन्द्रबहादुर राई, शिवकुमार राई, रूपनारायण सिंह भारतीय नेपाली साहित्यका सर्वाधिक महत्वपूर्ण कथाकार हुन् । इन्द्रबहादुरको ‘जयमाया एक्लै लिखापानी आइपुगी’, मेरी दिदी, रातभरि हुरी चल्यो उत्कृष्ट र सबैभन्दा बढी रुचाइएका कथा हुन् । तर, लीलालेखन सिद्धान्तअन्तर्गत लिखित उनका जटिल कथाहरू पनि उत्तिकै चर्चित छन् । माछाको मोल, फ्रन्टियर, यात्री शिवकुमारका उत्कृष्ट र सर्वाधिक चर्चित कथा हुन् । बितेका कुरा, मिस्टर एचबी बस्न्याट सिंहका राम्रा कथा हुन् ।

पोषण पाण्डे, दौलतविक्रम विष्ट, प्रेमा शाह, धु्रवचन्द्र गौतम, धु्रव सापकोटा, भाउपन्थी, शैलेन्द्र साकार, करिब उस्तै प्रवृत्तिका कथाकार हुन् । पाण्डेको भिनाजुको स्वेटर, कृष्णदासको भित्ते घडी, विष्टको रत्यौली, मरुभूमिको अन्तिम भोक, क्याक्टस एउटा अन्तरकथा, गौतमको अभ्यस्त, नीलडाम, हेम सुब्बाले पान खाए, द्रूतविलम्बित, प्रतिद्वन्द्वी, विशाखदत्त, तिम्रो नाम के हो लगायत प्रसिद्ध कथा हुन् । प्रेमा शाहको पहेँलो गुलाफ, लोग्ने, एउटा जीवन्त क्षण जो मरिमरी बाँच्छ, भाउपन्थीको सत्ताच्युत, टाउकोमा अड्केको गोली, सापकोटाको अर्कै मान्छे, सोनागाछी, साकारको घर, अनिश्चय, पुल उल्लेख्य कथा हुन् । भीमनिधि तिवारीको अमर पुत्र, दुई लास, केशवराज पिँडालीको दौरा सुरुवाल, केशवलाल कर्माचार्यको हराएको सारी, देवकुमारी थापाको भविष्य निर्माण, परशु प्रधानको वक्ररेखा, एउटा क्रान्तिपुरुषको जन्म सोमध्वज विष्टको जारकी स्वास्नी, बालकृष्ण पोखरेलको सोधाइ र जवाफ, तिमी अर्काकी देशकी भयौ, अरुन्धती, सुनकेसा मैया, कुमार ज्ञवालीको भुयुचाको डायरी, लक्ष्मणरेखा, चक्रव्यूह आदि प्रसिद्ध कथा हुन् । शंकर लामिछानेको अर्धमुदित नयन र डुब्न लागेको घाम, इन्द्र सुन्दासको अद्भूत रोग चर्चित कथा हुन् ।

‘नेपाली कथा र कथाकार’ 
डा. दयाराम श्रेष्ठले ‘नेपाली कथा र कथाकार’●●●●●●● मा यथार्थवादी युग, नवचेतनाको युग र परावर्तनको युग गरी कथाकारलाई तीन कालमा विभाजित गरेका छन् । उनले यथार्थवादी युगमा राखेका अधिकांश कथाकारबारे माथि यसै लेखमा चर्चा भइसकेको छ जसमध्ये अधिकांश हाम्रा मानक कथाकार हुन् । तिनका केही कथालाई नेपाली क्लासिक्स भन्न सकिन्छ । 

श्रेष्ठका अनुसार नवचेतना युगका प्रमुख कथाकारमा माथि केही कथाकारको चर्चा गरिसकिएको छ । तिनका अतिरिक्त यहाँ उनले छानेका कथाकार र तिनका उत्कृष्टमध्ये दुई कथा यहाँ उल्लेख गर्नु उपयुक्त ठानेको छु ।
मोहनराज शर्मा (मायाजाल, बन्चरो, केही पाना)●●●●●●●●, 
पुष्कर लोहनी (नांगो अस्तित्व, अनुहारको छाया), 
मदनमणि दीक्षित (ग्यास च्याम्बरको मृत्यु, लट्टु मियाको घोडा), 
मनु ब्राजाकी (भविष्ययात्रा, रागहजुरिया), 
विश्वम्भर चञ्चल (भासिँदै गएका रातहरू, अतृप्ति), 
पद्मावती सिंह (आरुको बोट, घाम पारि डुबिसक्यो), 
दिल साहनी (प्वाल परेको जिन्दगी, कमरेड गान्धी), 
खगेन्द्र संग्रौला (तमोर नदीको किनारै किनार, नलेखिएको इतिहास) 
भागिरथी श्रेष्ठ (भुइँचालो, मातृत्व), 
मञ्जु काँचुली (दुई महानगरका दुई रातहरू, धुलिखेल जान्नौ ?), 
जगदीश घिमिरे (पुङ्रो, षष्ठी तत्वबोध), 
सनत रेग्मी (बन्द कोठाको सहर, लक्ष्मणियका गौना), 
हरिहर खनाल (नीलो सुन, इतिहासको एक दिन), 
अनीता तुलाधर (मृत्युको संगीत, रित्तो सहर), 
माया ठकुरी (मृगतृष्णा, साँघु तरेपछि) 
शंकरप्रसाद श्रेष्ठ (निवृत्त आस्था, (निषेधित निषेधाज्ञा), 
देवेन्द्रप्रताप शाह –विज्ञापन, हिजोदेखि आजसम्म), 
सन्तोष भट्टराई (शक्ति, दया–धम्की), 
कविताराम (शुकदेव, मुक्तिप्रसंग), 
तेजप्रकाश श्रेष्ठ (वीरुकी स्वास्नी, मस्याङ्दीको छाल), 
जैनेन्द्र जीवन (प्रोक्सी, हजार रुपियाँको मान्छे), 
नगेन्द्रराज शर्मा .(आरोह अवरोह, रामलक्ष्मण), 
भुवन ढुंगाना (भोक, रमाकान्त), 
प्रदीप नेपाल –कालुमानको पाँचथर, परोपकार यात्रा), 
नारायण ढकाल (इरफान अलि, जननी जन्मभूमिश्च), 
किशोर पहाडी (विशुदाइ, सर्वज्ञ र सेक्स) 
पूर्णविराम (पानीमाथि पानी, अलग रुखका अलग पात), 
अशेष मल्ल (चक्र, भित्रभित्र धेरै भित्र), 
विजय चालिसे –देवकन्या, कमलरी), 
अविनाश श्रेष्ठ –जुनेली रातकी द्रौपदी, तान्या, इन्द्रकमल र अन्धकार), 
वेञ्जु शर्मा (किनाराको खोजी, गन्तव्य), 
नरेन्द्रराज पौडेल –कोसी किनारमा, मोहीलालको तल्सिङ), 
राजव –हाफ क्याबि, कार्लो रोसी), 
नन्दराम लम्साल (टेकुका टुहुरा, पातर्नी बुढी), 
इस्माली –आजकी शकुन्तला, मंसिरको अनिकाल), 
ऋषिराज बराल (रातभरि, बयान) 
गोपाल पराजुली –वेश्या, विदीशा), 
इन्दिरा प्रसाई (दिग्भ्रान्त, सत्ता), 
नारायण तिवारी –गन्तव्य, उत्मा उर्फ उत्तिमलाल), 
ध्रुव मधिकर्मी (तुसीमयचाको सिउँदो, बन्दी सत्य), 
लव गाउँले –अवकाश, घरजम), 
गोविन्द गिरी प्रेरणा –नयाँ बाटो, साबुत), 
सीता पाण्डे –खोल, सिँढी), 
सरुभक्त –क्रमशः, यामागाल), 
हरि अधिकारी (रामलालको आकाश, विकुलाल कुसाथा), 
मधुवन पौडेल –प्रत्यावर्तन, मन्दाकिनीको अस्मिता), 
महेशविक्रम शाह (सटाहा, छापामारको छोरो), 
नकुल सिलवाल –गोप्र, तिमी रोएर म रोएको), 
राजेन्द्र पराजुली –विकल्प यात्रा, सपनामा माक्र्स), 
घनश्याम ढकाल –बहुलाह बासुरी वादक, छेकिएको मोर्चा), 
रामप्रसाद पन्त (स्वीकारोक्ति, निरामिष नारानकाका) ।

श्रेष्ठका अनुसार नेपाली कथा परम्पराको तेस्रो काल खण्ड परावर्तनको युगका कथाकारहरूले कथा रचनाको गुणस्तरसँग कुनै सम्झौता गरेनन् । ‘परवर्ती कालसँग मैत्री राख्दै यी कथाकारहरूले नेपाली कथाको जीवनलाई गतिशील बनाउन ठूलो योगदान दिए’, श्रेष्ठले लेखेका छन् । यस कालका महत्वपूर्ण कथाकार र तिनका उत्कृष्टमध्ये दुई कथाको उल्लेख यहाँ गरेको छु ।

कृष्ण धरावासी –झोला, भो नउठा), 
नयनराज पाण्डे –चकलेट, निदाएँ जगदम्बा), 
शारदा शर्मा –भाष्कर, भाग्यविधाता), 
विवश पोखरेल (समयविम्ब, विर्जु ठाकुर), 
अमोद भट्टराई (खोपिल्टो, ओ निगेटिभ), 
साधना प्रतीक्षा –पूर्णिमा, अनौठो व्यापार(, 
रत्न प्रजापति –बाजी, उफान), 
इल्या भट्टराई (अनुवाद, मुनि मरेको छैन), 
रत्नमणि नेपाल –नदेख्नु, मंगलसेनको कथा), 
रोशन थापा निरव –महानगरको कथा, धराप), 
किशन थापा अधीर (नारी, अब मूल प्रश्न), 
कमला सरूप –अप्राप्त मोड, मेघावती पटेल), 
मणि लोहनी –हाँसो, निर्वस्त्र इरा), 
विवश वस्ती –नखनिएको खाड, पिपिरे दमै), 
घनश्याम शर्मा (ढाडे खोला, एक जोर आँखा), 
नीलम कार्की निहारिका –परिचय, बेली), 
मातृका पोखरेल –फुटपाथ, घाम झुल्कनुअघि), 
अभय श्रेष्ठ –मोडल, खबर, कहर र जहर, 
अमर न्यौपाने –चुकुल, दृष्टिकोण), 
शर्मिला खड्का (दाहाल) (अस्तित्वको खोजी, सकम्बरीको कथा), 
ललिता दोषी –हृदयको मलम, दुर्घटना), 
कुमार नगरकोटी –पृथ्वी, हेलो ज्याक्स डेरिडा), 
नव सिलवाल –थोत्रो छाता, फरक मान्छे), 
जलेश्वरी श्रेष्ठ (टेस्टट्युब बेबी, मौन विद्रोह), 
अनमोलमणि (अनुत्तरित, यथावत) ।

डा. श्रेष्ठको किताबमा उल्लेख नभएका तर पछिल्लो समयका चर्चित अन्य केही कथाकार हुन् आन्विका गिरी, नवीन विभास, उपेन्द्र सुब्बा तथा श्याम साह । उनले अर्को किताबमा पाश्र्वचित्र तयार पार्न तयार राखेका कथाकारको सूचीमा मीरा प्रधान रेम, अमर शाह, रेवती राजभण्डारी, जया राई, राजुबाबु श्रेष्ठ, बाबुराम लामिछाने, हरिमाया भेटवाल, फूलमान बल, दीपक लोहनी, राशी पाण्डे, धीरकुमार श्रेष्ठ, लक्ष्मी उप्रेती, प्रदीप मेयाङ्बो, माधवी अधिकारी, राममणि ढुंगेल, हरिहर पौडेल, केशरी अम्गाईँ, बाबा बस्नेत, सञ्जु बजगाईं, पुण्यप्रसाद खरेल, मोहनबहादुर कायस्थ, सुस्मिता नेपाल, अशोक सुवेदी, सिर्जना शर्मा, राममणि पोखरेल, बबिता बस्नेत, तृष्णा कुँवर, वेदकुमारी न्यौपाने, दिलीप शाह, पुष्पलता आचार्य, गोपाल अश्क, दीनबन्धु शर्मा उल्लेख गरेका छन् । यिनका अतिरिक्त रत्न बिके, सरल सहयात्री, तुलसी थापा, प्रेम ओझा, महेश पौडेल, हीरामणि दुःखी, अशोक सुवेदी, दिल साहनी, शान्ता श्रेष्ठ, पुन्य कार्की, सरला रेग्मी अन्जान विरही, रूद्र ज्ञवाली, होमशङ्कर बास्तोला, नारायणमान विजुक्छे, सी.पी. गजुरेल, भगवानचन्द्र ज्ञवाली, नरपल्लव, उपेन्द्र पागल, सरल सहयात्री, क्षितिज मगर, सौगात आचार्य, रोहित दहाल अनि मूलतः मातृभाषामा लेखिरहेका केदार सितु, लक्ष्मण राजवंशी, कृष्णराज सर्वहारी आदि उल्लेख्य कथाकार हुन् । नेपाली कथा भन्नाले खस नेपाली भाषामा लिखित कथा मात्र भन्ने अवधारणामा मेरो असहमति छ । तर, अन्य मातृभाषी कथाकारबारे सूचना नभएकाले तिनका बारे चर्चा गर्न नपाएकोमा सबैसँग म विनम्रतापूर्वक माफी चाहन्छु ।

डा. विन्दु शर्माले सम्भवतः नेपालमा पहिलोपल्ट ‘समसामयिक प्रगतिवादी नेपाली कथा’ सम्पादन गरेकी छन् । नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशोन्मुख उक्त कृतिमा अमर शाह, अभय श्रेष्ठ, आन्विका गिरी, ऋषिराज बराल, इस्माली, खगेन्द्र संग्रौला, गायत्री विष्ट, घनश्याम ढकाल, घनश्याम शर्मा, देवीप्रसाद सुवेदी, नवराज रिजाल, नवीन विभास, नारायण ढकाल, पुण्यप्रसाद खरेल, पुण्य कार्की, प्रदीप नेपाल, प्रदीप ज्ञवाली, भवानी क्षेत्री, भवानीप्रसाद पाण्डे ‘भाष्कर’, मातृका पोखरेल, रणेन्द्र बराली, राजव, विजय चालिसे, विवश वस्ती, श्याम साह, सीताराम नेपाल, सरल सहयात्री, हरिगोविन्द लुइँटेल, हरिमाया भेटवाल गरी २९ कथाकारका कथा समेटिएका छन् । उक्त कृतिले नेपाली कथाको अध्ययनमा थप योगदान पु¥याउने अपेक्षा गर्न सकिन्छ ।

अतिरिक्त टिप्पणी
कथाकारको संख्या कम नभए पनि तीसको दशकदेखि अहिलेसम्म निरन्तर लेखिरहेका मध्ये दुई कथाकार मलाई निकै महत्वपूर्ण लाग्छन् । मनु ब्राजाकी र राजव । ब्राजाकी पूर्वी तराई समाजको ग्रामीण समाज, भट्टी संस्कृति र यौन संसारका चित्रणमा अतुल्य छन् । उनका भविष्ययात्रा, आखिर सजीवको कत्र्तव्य के हो त ?, एकान्त, अमलेख, जोरपैयुँ, तिम्री स्वास्नी र म, शुभलाभ, भ्यागुता र दर्शन नेपाली समाजको चरित्रको कुशल शल्यक्रिया गर्ने कथा हुन् । अर्का कथाकार राजव राजनीतिले जनजीवनमा पारेको प्रभाव, सत्तासीनको भ्रष्ट संस्कृति, निरीह जनको मजबुरी र पुँजीवादी समाजको क्रूरता चित्रण गर्नमा अत्यन्त कुशल छन् । उनका किबुका, भैँसी अंकल, कार्लो रोसी, जहाँ पिँजरा पनि देखिन्न, हाफ क्याबि, नोकर, कुकुर र बाउको राजनीति, राम्रै सिकार स्मरणीय कथा हुन् ।

कथामा समयचेत
माथि उल्लिखित कथामा कुनै न कुनै रूपमा तत्कालीन समय र समाजको पाश्र्वचित्र भेटिन्छ भलै धेरैजसो कथा मनोवेग र अस्तित्वको संकटमा केन्द्रित छन् । अभिव्यक्ति स्वतन्त्रताको अभावमा राणाकालमा इतिहास चेतनाका साहित्य खासै फस्टाउन पाएन । तथापि, यसको उत्तराद्र्धदेखि नेपालीमा मानक कथा लेखिन थालेका थिए । प्रजातन्त्र स्थापनापछि नै सही, राणाकालीन समाज, त्यसपछिको समाजका कथा लेखिए । गोविन्द गोठाले, विजय मल्ल, भवानी भिक्षु, हृदयचन्द्रसिंह प्रधान लगायतको भूमिका यसमा महत्वपूर्ण छ । त्यसपछिका कथा बढीजसो इतिहास चेतनाका भन्दा अस्तित्वादी, छायावादी बढी छन् । प्रजातन्त्र स्थापनापछि समर्पित भएर इतिहास चेतनाका कथा लेख्नेमा नारायण ढकाल, खगेन्द्र संग्रौला, राजव, ऋषिराज बराल लगायत कथाकार उल्लेख्य रूपमा देखा परे । डा. विन्दु शर्माको ‘प्रतिनिधि समसामयिक प्रगतिवादी नेपाली कथा’ का अनुसार
तर, नेपालमा इतिहास चेतना, खासगरी ‘राजनीतिक र समाजशास्त्रीय दृष्टिले उचित’ आख्यान कम लेखिएका छन् । इतिहास चेतनाका साहित्य लेख्नेका लागि जनयुद्ध अत्यन्त महत्वपूर्ण समय थियो । जनयुद्धको राप र तापले जनसामान्यको जीवनमा पारेको प्रभावको आधिकारिक कथा नेपाली साहित्यमा लगभग लेखिएकै छैन भन्दा पनि हुन्छ । यस धारामा जेजति लेखिएका छन्, ती कि त निरपेक्ष शान्तिवादी दृष्टिले लेखिएका छन् कि त निरपेक्ष जनयुद्धवादी दृष्टिले । सिद्धहस्त भनिएका लेखक जनयुद्धले प्रत्यक्ष प्रभाव पारेको समाजसम्मै पुगेनन् र जनयुद्धमै सामेल लेखक हामीसँग अत्यन्त कम थिए । सायद यसकारण, हामीसँग अन्तर्राष्ट्रिय मञ्चमा देखाउनलायक द्वन्द्वका कथा लगभग गयल छन् ।

सोलोखोबको ‘पराई रगत’
द्वन्द्व कथाका लागि मलाई नोबेल विजेता रुसी आख्यानकार मिखाइल सोलोखोभ सबैभन्दा उल्लेख्य लाग्छन् । उनी अक्टोबर क्रान्तिपछि रुसमा जारी गृहयुद्धताक द्वन्द्वग्रस्त दोन क्षेत्रमा कार्यरत थिए । दोन क्षेत्रमा सन् १९२२ सम्म हुकुम चलाउने जत्थाको उनले पिछा गरिरहे । ती जत्थाहरू पनि उनको खेदो गरिरहन्थे । यही अनुभवलाई उनले ‘दोनका कथाहरू’●●●●●●●●● मा उतारे जसमध्ये एउटा विश्वप्रसिद्ध कथा हो ‘पराई रगत’ । कथामा क्रान्तिकारीहरूले छोरा मारिदिएपछि क्रान्तिविरोधी भएको एक वृद्ध दम्पतीको सीमान्त दुःखको कथा छ । प्रतिक्रान्तिकारीहरूको आततायी आक्रमणमा परेर मर्लान्त भएको युवा कम्युनिस्ट निकालाईमा उनीहरू आफ्नै छोरा प्योत्रको छायाँ भेट्छन् । उनीहरू अनेक दुःख र स्याहार गरेर निकोलाईलाई बचाउँछन् । उसलाई ‘प्योत्र’ भनेरै बोलाउँछन् । बुढेसकालको घरबार सम्हालिदिने उही हुनेछ भन्ने उनीहरूको आशामा त्यतिखेर तुसारो पर्छ जब पार्टीले बोलाएपछि निकोलाई वृद्ध दम्पतीलाई छाडेर सहर जान्छ । जति प्रेम गरे पनि पराई रगत आफ्नो हुँदैन भन्ने जीवनको क्रूर सत्य कथाले व्यक्त गर्छ ।

सन् १९६५ को नोबेल साहित्य पुरस्कार विजेता सोलोखोब स्वयं कम्युनिस्ट कार्यकर्ता थिए । कथा लेख्दा बोल्सेभिक कार्यकर्ता होइन, उदात्त, विशाल हृदय र आलोचनात्मक चेत भएका इमानदार द्रष्टा  हुनुपर्छ भन्ने उनले आफ्ना कथाहरूमा देखाइदिए । नत्र एउटा बोल्सेभिक क्रान्तिकारीले क्रान्तिविरोधी वृद्ध दम्पतीको सीमान्त दुःखको कथा यति गहिराइमा पुगेर कसरी लेख्न सक्छ ? जनयुद्धलाई नजिकबाट नियालेका र जनयुद्धमै संलग्न कथाकारहरूले विषयवस्तुमाथि न्याय गर्न सोलोखोबबाट अनि अर्नेस्ट हेमिङ्वेको माथि चर्चा गरिएको कथाबाट सिक्न सके नेपाली इतिहासको एउटा महत्वपूर्ण कालको आधिकारिक चित्र उतार्ने महान् कथा यहाँ पनि लेखिन सक्छ । हामीले हाम्रै इतिहास, जनजीवन, संस्कृति र संघर्षका कथा लेखे मात्र हाम्रा कथाको मौलिक परिचय र स्वाधीन बाटो बन्छ । त्यही कुरालाई अन्तर्राष्ट्रिय मञ्चमा लगेर युनिभर्सल बनाउन सकिन्छ । 

गुमनाम कथा
नेपाली साहित्यमा आज कविता र उपन्यासको चर्चा जति हुन्छ त्यसको तुलनामा कथाको चर्चा नगण्यजस्तै छ भन्दा हुन्छ । ठूला मिडियाले प्रशस्त स्पेस दिएका र अधिकांश साहित्यिक गोष्ठी कविताकै हुने हुँदा कविताको चर्चा बढी हुनु स्वाभाविक हो । उपन्यासको चर्चा चाहिँ यसको बजारले गर्दा भएको हो । यसको अर्थ यहाँ कथा कमजोर लेखिएको वा कथाको बजार नै नभएको भन्ने होइन । नेपाली साहित्यमा कवितापछि सबैभन्दा उर्वर र स्पष्ट अनुहार देख्न सकिने विधा कथा नै हो । बजारका हिसाबले पनि उपन्यासपछि प्रकाशक र पाठकको प्राथमिकतामा यही विधा पर्छ । यति हुँदा पनि आज कथा र कथाकारको खासै चर्चा छैन । पछिल्लो समय नेपाली कथा कस्तो लेखिँदैछ ? तिनले विगतमा जस्तै कथाको इज्जत धान्न सकेका छन् कि छैनन् ? किन यसको मूल्यांकन भइरहेको छैन ? किन जनसामान्यको पहुँचमा हुने आमसञ्चारमा यसबारे परिचर्चा हुँदैन ? किन यसको जवाफ खोज्न डा. दयाराम श्रेष्ठ वा त्यस्तै अरु अध्येताको बजारमा लगभग गुमनाम पुस्तकको सहारा लिनुपरिरहेको छ ? प्रस्ट छ, यहाँ कथासम्बन्धी गतिविधि लगभग शून्य छ । साहित्यिक पत्रपत्रिकाले कथा विशेषांक निकाल्न खासै जाँगर चलाइरहेका छैनन् । जब गतिविधि हुँदैन, अनि चर्चा र मूल्यांकन नहुनु स्वाभाविक हुन्छ । चर्चा र मूल्यांकन नहुँदा पठन र लेखन पनि निरुत्साहित हुँदै जान्छ ।

केही टिप्स 
१) प्रतिष्ठानले निकाल्ने समकालीन साहित्यमा वर्षको एकपल्ट अनिवार्य रूपमा कथा विशेषांक निकाल्ने । मधुपर्क, गरिमा र निजी क्षेत्रका अन्य पत्रपत्रिकालाई पनि यस्ता विशेषांक निकाल्न प्रेरित गर्ने । त्यसका लागि त्यस क्षत्रका ज्ञाता अतिथि सम्पादक राख्ने । 
२) समकालीन साहित्य, गरिमा, मधुपर्क जस्ता साहित्यिक पत्रिकाले वर्षभरि आफ्नो पत्रिकामा छापिएका हरेक विधाका उत्कृष्ट रचना घोषणा गर्ने । त्यसका लागि विश्वसनीय र सम्मानित छनोट समिति बनाउने ।
३) प्रतिष्ठानको आख्यान विभागले वर्षभरि छापिएका कथा संग्रहबाट उत्कृष्ट कथा पुस्तक र वर्षभरि विभिन्न पत्रपत्रिकामा छापिएका कथामध्येबाट उत्कृष्ट कथा घोषणा गर्ने । त्यसका लागि एउटा मापदण्ड र विश्वसनीय छनोट समिति बनाउने । 
४) आख्यान विभागकै पहलमा नियमित रूपमा कथासम्बन्धी विषय केन्द्रित राष्ट्रिय, अन्तर्राष्ट्रिय डिस्कोर्स चलाउने । जस्तो कथाको शिल्प र प्रयोगबारे एउटा, प्रगतिशील कथाको स्थितिबारे अर्को अनि कथामा इतिहास चेतनाबारे अर्को कार्यक्रम गर्न सकिन्छ । 


● देवकोटा, छोटो किस्सा, शारदा, नववर्षांक १९९९, पृष्ठ १२० ।
●● आन्तोन चेखभका कथा,रादुगा प्रकाशन, मस्को, अनु ः कृष्णप्रकाश श्रेष्ठ ।
●●● अवमूल्यन, २०३७, साझा प्रकाशन ।
●●●● ह्र्वीलीगिग अफ लाइफ कथा संग्रह, ओ हेनरी ।
●● ●●● नेपाली कथा भाग १, प्रथम संस्करण, साझा प्रकाशन, २०४६ । सं. नरहरि आचार्य, महादेव अवस्थी, देवीप्रसाद गौतम
●●●●●● झ्यालबाट, संं ईश्वर बराल, साझा प्रकाशन ।
●●●●●●● नेपाली कथा र कथाकार, प्रज्ञा प्रतिष्ठान, २०७० ।
(.......)●●●●●●●● सोही किताबमा डा. श्रेष्ठले उत्कृष्ट उल्लेख गरेका मध्ये दुई कथा ।

1 comment: